काठमाण्डौ । भारतले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। 

भारतले हिजो बुधबार नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने घोषणा गरेको थियो। सोहीअनुसार एयर इन्डियाको विमानबाट भारतले खोप नेपाल पठाएको हो। अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोपको भारतीय संस्करण ‘कोभिसिल्ड’ केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। 

नेपाल भित्रिएको खोप भारतीय राजदूत विनयमोहन क्वात्राले विमानस्थलमै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन्। उनले खोप बुझ्दै भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका छन्।

ती खोप भण्डारणका लागि टेकुस्थित स्वास्थ्य सेवा विभागमा पठाइएको छ। ती खोप पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीका प्रतिनिधिलगायतलाई लगाइनेछ। त्यसका लागि सरकारले प्रत्येक प्रदेशमा खोप पठाउने छ।