काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित पुँजी बजार फोरम विस्तार गरिएको छ। 

पुँजी बजारको विकास र विस्तारका लागि क्रियाशील भई काम गर्ने, पुँजी बजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन र ऐन नियमलाई समयसापेक्ष सुधार गर्न सुझाव तयार गर्ने प्रमुख कार्यक्षेत्रका साथ महासंघमा पुँजी बजार फोरम पहिलोपटक गठन भएको हो।

नवगठित फोरमका सहसभापतिमा महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रमशरण थपलिया चुनिएका छन्। त्यसैगरी फोरमका सदस्यहरूमा महासंघको पूर्वकार्यकारिणी समिति सदस्य निर्माणकुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा, सेक्योर्ड सेकुरिटिज लिमिटेडका अध्यक्ष सन्तोष मैनाली, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज् प्रालिका अध्यक्ष प्रियराज रेग्मी, मार्केट पण्डित क्यापिटल एन्ड मर्चेन्ड बैंकिङ लिमिटेडका सञ्चालक विष्णुप्रसाद बस्याल, ओरल एडभरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक राजन लम्साल र ग्रिन हिल सिटी प्रालिका प्रबन्धक ज्योति दाहाल छन्। 

एनआरएन इन्फ्रास्ट्रक्चरकी कार्यकारी अधिकृत उषा खतिवडा र अनलाइन सेक्युरिटिज प्रालिका प्रवन्ध निर्देशक अनन्तकुमार पौडेल आमन्त्रित सदस्यमा चुनिएक छन् भने फोरमको सल्लाहकारहरूमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पुँजी बजारका परामर्शदाता कुमार केशर बिष्ट छन्। 

समितिमा चुनिएका उद्यमीव्यवसायीलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजी बजारलाई स्थायी र भरभर्दाे बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ्य अभ्यासको प्रवद्र्धनमा फोरममार्फत महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे। साथै, गोल्छाले नेपालको पुँजी बजारको विकासमा महासंघका तर्फबाट पनि योगदान दिन सकियोस् भनेर पुँजी बजार फोरम गठनमा विशेष जोड दिएको बताए। 

कार्यक्रममा महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र रोजगारदाता परिषद्का सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघाईले पुँजी बजारका विषयमा जनचेतना वृद्धि र जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित पक्षसँग समन्वय गर्ने कार्यमा फोरम सक्रिय रूपमा लाग्ने विश्वास प्रकट गरे।