काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक गतिविधि, व्यापार र उपभोक्ताको संरक्षणका कुरा सुदृढीकरण हुनेबित्तिकै राजस्व संकलनमा स्वतः सुधार आउने बताएका छन्।

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेले यस्तो धारणा राखेका हुन्। उनले राजस्व संकलन सन्तोषजनक हुन आर्थिक गतिविधि अत्याधिक रुपमा बढ्नुपर्ने, व्यापारको सहजीकरण सहज ढंगले हुनुपर्ने तथा उपभोक्ताको संरक्षण हुनुपर्ने बताए। ‘यी तीन कुरा हुनेबित्तिकै राजस्व संकलनमा स्वतः सुधार आउनेछ’, उनले भने।

अर्थमन्त्री पौडेलले भन्सार सेवालाई प्रभावकारी तथा उत्कृष्ट सेवा प्रदान गर्ने बनाउन प्रविधिमैत्री बनाइएको बताए। ‘यसलाई समायनुक्रल बनाउन हामी प्रयत्नरत रहेको र यसमा निजी क्षेत्रको पनि उत्ति नै योगदान हुनुर्छ’, उनले भने।

निजी क्षेत्रले राज्यलाई दिएको योगदानलाई कदर गर्दै कोभिड भ्याक्सिनको सहज उपलब्धताका लागि अर्थ मन्त्रालय सदैव सकारात्मक रहेको पौडेलले बताए। 

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिडबाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको बताए। ‘नेपालजस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकमा यसबाट उत्पन्न चुनौतीसँग सामना गर्न व्यवसायी तथा उद्योगीहरुलाई झनै कठिन रहेको अवस्था छ’, उनले भने, ‘मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको अहम भूमिका रहने निजी क्षेत्रको दीगो विकासले नै आर्थिक विकास तथा रोजगारी अभिवृद्धिलाइ टेवा दिने हुनाले निजी क्षेत्रको मनोबल उच्च बनाउन आवश्यक भएको छ।’

आयात–निर्यातको प्रभावकारिताका लागि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा श्रेष्ठले जोड दिए। यसबाट राजश्वमा प्रतिकूल प्रभाव नपर्ने बरु यसबाट राजश्वमा थप योगदान हुने उनको भनाइ थियो। भन्सारमा जति सहज वातावरण हुन्छ, त्यति नै बढि देशको आर्थिक गतिविधि पनि सहज हुने भएकोले भन्सारलाई प्रविधि तथा उच्च पूर्वाधारयुक्त बनाउनुपर्नेमा उनले जोड दिए। 

अध्यक्ष श्रेष्ठले अग्रपंक्तिमा खटिएका निजी क्षेत्रका व्यवसायीर्ला कोभिड भ्याक्सिन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्ने माग गरे। 

अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले कोभिडको महामारीको वीचमा राजश्व अशुलीमा उल्लखेनीय योगदान पुर्याएकोमा समग्र निजी क्षेत्रलाई धन्यवाद दिए। उनले अहिले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको बताए।