काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीले वाल स्ट्रिट एनालिस्टले अनुमान गरेभन्दा ३ बिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ।

हालै प्रकाशित भएको दोस्रो त्रैमासिक रिपोर्टअनुसार यो आकँडाले कोरोना महामारीले कम्पनीको व्यवसायको उछालतालाई निरन्तरता दिइरहेको संकेत गरेको छ। महामारी सुरु भएसँगै कम्पनीको कम्प्युटर र गेमिङ सिस्टमदेखि लिएर क्लाउड कम्प्युटिङ सिस्टमहरुहरुको व्यवसायमा उछाल आइरहेको छ। 

दोस्रो त्रैमासमा माइक्रोसफ्टले ४३.१ बिलियन डलर आम्दानी गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले र विश्लेषकहरुले अनुमान गरेभन्दा ४०.२ बिलियनले धेरै हो। 

कम्पनीको आम्दानी १५.५ बिलियन डलर अर्थात प्रतिसेयरमूल्य २.०३ रहेको छ। वाल स्ट्रिट एनालिस्टले भने कम्पनीले प्रतिसेयर १.६४ डलरका दरले आम्दानी गर्ने प्रक्ष्येपण गरेको थियो। 

कम्पनीको वित्तीय विवरण सार्वजनिक भएसँगै कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको उछाल आएको छ। रिपोर्ट सार्वजनिको भएको दुई घन्टामा कम्पनीको सेयरमूल्य ३ प्रतिशतले वृद्धि भएको थियो। 

कोरोना महामारीका कारण माइक्रोसफ्टको क्लाउड कम्प्युटिङको बिक्रीमा निरन्तर उछाल आइरहेको छ। अमेजनको वेब सर्भिस र गुगल क्लाउडसँग प्रतिस्पर्धा गर्ने कम्पनीको एज्युर क्लाउड प्लेटफर्मको आम्दानी गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ। 

यसैगरी कम्पनीको कमर्सियल क्लाउड रेभ्युन्युमा समेत वृद्धि भएको छ। महामारीका कारण घरबाटै काम गरिरहेका व्यवसायहरुका लागि अत्यन्तै महत्वपूर्ण अफिस ३६५ कमर्सियलको वृद्धि दर ३४ प्रतिशत रहेको छ। 

कोरोनाभाइरसको खोप लगाउन सुरु भएर संक्रमितको संख्यामा कमी आउन थाले पनि कम्पनीको क्लाउड व्यापारको वृद्धिले निरन्तरता पाउने विश्लेषकहरुले अनुमान लगाएका छन्। विश्लेषकका अनुसार सन् २०२२ सम्म क्लाउडमा सञ्चालन हुने कार्यभार ३५ प्रतिशतबाट ५५ प्रतिशतसम्म पुग्नेछ।  

माइक्रोसफट्ले पनि कम्पनीको बलियो क्लाउड व्यापारले निरन्तरता पाउने विश्वास लिएको छ। कम्पनीले मार्च ३१ मा अन्त्य हुने चालु त्रैमासमा इन्टिलिजेन्ट क्लाउड सेग्मेन्ट(जसमा एज्युर पनि पर्छ) को व्यापार २१.५ प्रतिशतले वृद्धि हुने अनुमान लगाएको छ। 

गत डिसेम्बर महिनामा माइक्रोसफ्टको नयाँ एक्स बक्स सिरिज र सिरिज एसको मागमा व्यापक उछाल आएको थियो। अत्यधिक मागका कारण खुद्रा व्यापारीहरुलाई यसको स्टक कायम राख्न गाह्रो परेको थियो र माइक्रोसफ्टले चिप निर्माता एएमडीलाई अधिक मात्रामा उपलब्ध गराउन सहयोग मागेको थियो। 

एक्स बक्सको बिक्रीअन्तर्गत पर्ने माइक्रोसफ्टको “मोर पर्सनल कम्प्युटिङ” सेग्मेन्टको वार्षिक आम्दानी १४ प्रतिशत अर्थात १५.१ बिलियन डलर पुगेको छ। 

कम्पनीको त्रैमासिक गेमिङ आम्दनी पहिलोपटक ५ बिलियन अमेरिकी डलर नाघेको छ। एक्स बक्स कन्टेन्ट र सर्भिसेसको आम्दानी ४० प्रतिशतले वृद्धि भएको छ। यसअघि गत वर्ष एक्स बक्स कन्टेन्ट र सर्भिसेसको आम्दानी ११ प्रतिशतले घटेको थियो। 

कम्पनीका सीईओ सत्यम नाडेलाले एक्स बक्स सिरिज र सिरिज एसको लन्च कम्पनीको इतिहासमै सबैभन्दा बढी सफल भएको र लन्च भएको महिनामा सबैभन्दा धेरै बिक्री भएको बताएका छन्। 

यस्तै कम्पनीको प्रमुख वित्त अधिकारी एमी हुडले आर्थिक वर्ष २०२१ मा कम्पनीले आम्दानी र सञ्चालन मुनाफा दुवैमा दोहोरो अंकको वृद्धिको अनुमान गरेको बताएका छन्। – एजेन्सी