काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले तरकारी व्यापारीहरुलाई सम्बोधन गर्दै विद्युतीय भुक्तानीको माध्यम प्रयोग गरे आफ्नो हैसियत पुष्टि हुने र बैंकबाट लोन लिन पनि सजिलो हुने बताएका छन् । 

तीनकुनेको हरित स्मार्ट कृषि बजारको समुद्घाटन गर्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् । 

माछापुच्छ्रे बैंकको सहकार्यमा सो तरकारी बजारका अधिकांश व्यापारीहरुले क्यू आर कोडमार्फत कारोबार हुने प्रणालीको सुरुवात गरेपछि उनीहरुलाई सम्बोधन गर्दै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए । 

‘तपाईको कारोबारमा पारदर्शिता आएपछि बैंकबाट लोन पाउन सजिलो हुन्छ, आफ्नो हैसियत प्रमाणित हुन्छ ।’ उनले भने–‘तपाई आफैंलाई बैंकले लोनको अफर गर्नसक्छ भोलिका दिनमा ।’ 

उनले क्यूआर कोडबाट कारोबारका लागि सर्वसाधारणलाई अभ्यस्त बनाउने राष्ट्रबैंकको लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि निकट भविष्यमै जनचेतनाको कार्यक्रम ल्याइने जानकारी दिए । 

माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवाको भरपूर प्रयोगबाट भुक्तानी प्रणालीको आधुनिक युग सुरु सुरुवातमा महत्वपूर्ण सहयोग भएको उल्लेख गर्दै बैंकहरुले पनि आफूले सुरुवात गरेका यस्ता सेवामा व्यापारी र सर्वसाधारणलाई अभ्यस्त गराउन केही महिना कार्यस्थलबाटै समन्वय गर्नुपर्नेमा जोड दिए । 

सो बजारमा रहेका कुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको बजार विकास समितिले जनाएको छ । 

गभर्नर अधिकारीले सो बजारका एक तरकारी पसलबाट १२० रुपैयाँको कागती किनेर क्यूआर सेवाको सुरुवात गरेका थिए । 

क्यूआर कोड सेवा सुरुवात तथा स्मार्ट कृषि बजार उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले विद्युतीय भुक्तानी प्रणालीको विकासमा बैंकले सक्दो प्रयास गर्ने र राष्ट्रबैंकको नगदरहित कारोबारको नीतिलाई पूर्ण साथ दिने बताए ।