काठमाण्डौ । नेपाल उद्योग परिसंघले उद्योगहरुलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न सरकारसँग आग्रह गरेको छ।

परिसंघका पदाधिकारीहरुले आज मुख्यसचिव शंकरदास वैरागीलाई सिंहदरबारमा भेट यस्तो आग्रह गरेका हुन्। उनीहरुले औद्योगिक विस्तारबाट रोजगारी सिर्जना गर्ने सम्बन्धमा मुख्यसचिव वैरागीसँग छलफल गरेका थिए। 

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले विभिन्न क्षेत्रका उद्योगहरुले नेपालको कुल ग्राहस्थ उत्पादनमा पुर्याएको योगदानलाई उजागर गर्दै उत्पादनमूलक उद्योगहरुको क्षमता विकास र प्रतिस्पर्धी बनाई स्वदेशमै रोजगारी सृजना गर्न नेपाल सरकारले सहज वातावरण तयार गर्नुपर्ने बताए। 

अध्यक्ष मोरले नेपालको युवाशक्तिहरु विदेशमा गएर रोजगारी गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमै अवसर प्रदान गर्नका लागि दीर्घकालिन लक्ष्यहरु तय गरी सरकार र निजी क्षेत्र एकैसाथ अगाडि बढ्नुपर्ने धारणा राखे। 

परिसंघको अनुसन्धान इकाइले अध्ययन गरी तयार गरेको नेपालमा उद्योग दर्ताको स्थिति र त्यसबाट भएको रोजगारी सिर्जनाका सम्बन्धमा छलफल भएको थियो । छलफलमा नेपालको अर्थतन्त्रलाई माथि उठाउनका लागि आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भरतर्फ उन्मुख गराउन सरकार र निजी क्षेत्रको सहकार्यलाई जोड दिइएको थियो । 

मुख्यसचिव वैरागीले नेपालमा कृषि क्षेत्रलाई प्रधानमन्त्रीबाट उच्च प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै कृषि क्षेत्रमा निजी क्षेत्रले रोजगारी सृजना गर्न सक्ने धारणा राखे। हाल सरकारले कृषि क्षेत्रमा पनि वैदेशिक लगानीलाई खुला गरेकोले यसतर्फ निजी क्षेत्रको ध्यान जानुपर्ने विचार व्यक्त गरे। 

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तोयानारायण ज्ञवाली र परिसंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष अनुज अगरवालको उपस्थिति थियो ।