काठमाण्डौ । कोभिड–१९ विरुद्धको खोप खरिद गर्न विश्व बैंकले नेपाललाई ७ करोड ५० लाख अमेरिकी डलर सहुलियत ऋण उपलब्ध गराउने तयारी गरेको छ। यो करिब ८ अर्ब ७० करोड नेपाली रुपैयाँ हुन आउँछ। 

नेपाललाई खोप खरिदका लागि सहुलियत ऋण दिने प्रस्तावलाई छिट्टै बोर्डमा प्रस्तुत गर्न लागिएको छ। यो रकमले नेपाल सरकारले प्राथमिकतामा राखेको ७२ प्रतिशत जनसंख्यालाई आवश्यक पर्ने खोप खरिद गर्न प्रयोग गर्नसक्ने छ।

नेपालले अन्तर्राष्ट्रिय मापदण्डअनुसार विश्व बैंकले मान्यता दिएको कुनै पनि उत्पादकसँग आपसी समझदारीमा वा कोभ्यक्सबाट प्राप्त हुने खोप खरिद गर्न उक्त रकम प्रयोग गर्न सक्ने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्व बैंकले दिने भनेको ७५ मिलियन डलरमध्ये ६७.५ मिलियन डलर खोप खरिद गर्न र बाँकी रकम खोपको व्यवस्थापनका लागि हो।

नेपालले भारतको सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआईआई)सँग २० लाख खोप खरिद गर्ने तयारी गरेको छ। सिरमसँग प्रतिडोज खोप ५ डलरभन्दा कममै खरिद गरिने मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले हाल विश्व बैंकले दिने भनेको ऋण सहयोगबाट सिधै सिरमलाई आवश्यक रकम दिने प्रस्ताव गरेको छ। प्रस्तावमा सिरम पनि सहमत देखिएको छ।