पृथ्वीनारायण शाह सुरवीर थिए। रणनीतिक रुपमा मात्र होइन, उनी आर्थिक दृष्टिकोणबाट पनि दूरदर्शी थिए। आफ्नो देशको आर्थिक उन्नतिका लागि उनी उत्तर अर्थात् तिब्बतबाट सुन आयात गरी दक्षिणको भारततिर बेच्थे भने दक्षिणबाट चाँदी संकलन गरेर आफ्नो नाममा मुद्रा ढलाएर कारोबार गर्थे।

डोला लिन गएका पृथ्वीनारायण शाह ससुरालीसँगको ठूलो विवादपछि चन्द्रागिरीको बाटोहुँदै मकवानपुरबाट गोरखा फर्किंदा काठमाण्डौ उपत्यका देखेर लोभिए। त्यसपछि उनले उपत्यका कब्जा गर्ने उद्योगतिर विशेष ध्यान दिन थाले। यसका लागि सरसल्लाह गर्न थाले।

यस प्रयोजनका लागि पृथ्वीनारायण शाहले सबैभन्दा पहिले विक्रम सम्वत १८०१ असोजमा नुवाकोट कब्जा गरे। नुवाकोट त्यसबेला कान्तिपुर अधिनस्थ थियो। नुवाकोट कब्जा गरिए, उपत्यकालाई ठूलो आर्थिक सङ्कट उत्पन्न गर्न सकिन्थ्यो। नुवाकोटलाई उपत्यकाको पश्चिमी ढोका भन्न पनि सकिन्थ्यो। त्यो अग्लो ठाउँमा भएकोले त्यहाँबाट उपत्यका हान्न सजिलो हुन्थ्यो। नुवाकोट कब्जा गरेको खण्डमा कान्तिपुरको भोटसँग हुने ब्यापारमा नाकाबन्दी लगाउन पनि सकिन्थ्यो ( त्रिरत्न मानन्धर ‘नेपाल परिचय’–२०३२, पृ. १७९–१८०)

नुवाकोट सामरिक महत्वको मात्र थिएन, कान्तिपुर र भोटको व्यापारको मूल बाटो पनि थियो र त्यही व्यापार नै कान्तिपुरको मुख्य आयको स्रोत थियो। 

नुवाकोट जित्न सकेको खण्डमा कान्तिपुरमा आर्थिक संकट पैदा गर्न सकिनेमात्र होइन, त्यो व्यापारलाई आफ्नो मातहतमा राखी आफ्नो लागि आर्थिक उन्नतिको ढोका पनि खोल्न सकिने सुझबुझका साथ पृथ्वीनारायण शाहले सबैभन्दा पहिले नुवाकोट हात पारे। त्यसपछि उपत्यकामा र त्यसमा पनि कान्तिपुर राज्यमा आर्थिक संकट सुरु भयो।

भादगाउँका राजा रणजित मल्लका छोरा वीरनरसिंह मल्लसँग मितेरी साइनो गाँसेका थिए, पृथ्वीनारायण शाहले। भादगाउँमा आएर व्यापार चलाउने सन्न्यासी व्यापारी कमल वनसँग राजा रणजीत मल्लमार्फत पृथ्वीनारायण शाहले ऋण लिएका थिए। यसबापत उनले केही राज्य कब्जा गरेर मीतबुवालाई दिने वाचा पनि गरेका थिए। पृथ्वीनारायण शाहले काठमाण्डौ ठकुराईबाट खासासम्मको कुतीमा जाने मार्ग वि.सं. १८०३ मा मा दखल गरी भक्तपुरका राजालाई दिएका थिए। र, भक्तपुरका व्यापारीसँग मिलेर कुतीपट्टिबाट उनले सुनको व्यापार आरम्भ गरेका थिए। यो व्यापारमा उनले भक्तपुरका मुद्रा चलाएका थिए। 

एकातिर उनले आफ्नो वाचाअनुसार केही स्थान कब्जा गरेर मीतबुवालाई समर्पण गरे भने त्यहीँ भूमि अर्थात् व्यापारिक मार्ग उपयोग गरेर उनले आफ्नो व्यापार पनि सञ्चालन गरे ( बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको  संक्षिप्त  जीवनी’–२०६१, पृ. ४७४)। यसबाट उनको राजनीतिकमात्रै होइन रणनीतिगत रुपमा  आर्थिक चातुर्यता पनि स्पष्ट हुन्छ।

राज्य कब्जा गर्ने क्रममा पृथ्वीनारायण शाहले अन्नतः आफ्नै मीतबुवाको राज्य भादगाउँ कब्जा गरे र मीतबुवा रणजीत मल्ललाई काशीबास गराए। 

सुन किन्ने आदेश

पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा  सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र दोलखामा समेत एकलौटी अधिकार गरेपछि यसतर्फबाट हुने सुनको व्यापार आफ्ना हातमा लिएर भक्तपुरका राजाले वाणिज्यदूत बनाएका हरिदेव पण्डितलाई नै आफ्ना वाणिज्यदूत बनाए (आचार्य, उही, पृ. ४७४–४७५)।

सुन र नुनका लागि भोट (तिब्बत) उसबेलैदेखि प्रख्यात थियो। भोट(तिब्बत) बाट सुन ल्याउन हरिदेव पण्डितलाई आदेश दिए (नयराज पन्त र अरु ‘पृथ्वीनाराण शाहको उपदेश’ –२०२५, पृ. ९६७–९६८)।

यसैगरी यो पत्रको फोटोकपी काठमाण्डौ स्वयम्भुनिवासी अन्वेष्वक देवीराम श्रेष्ठले पनि राष्ट्रिय अभिलेखालयको मुखपत्र ‘अभिलेख’ को वर्ष ३१ पूर्णाङ्क ३१ मा छपाएका छन् (देवीराम श्रेष्ठ, ‘अभिलेख’ पूर्णाङ्क ३१–२०७०, पृ. ६१)। 

पृथ्वीनारायण शाहले वाणिज्यदूत हरिदेव पण्डितलाई दिएको सुन कारोबारसम्बन्धी आदेश खुल्ने यो फोटोकपीको सार यस्तो छः

...चाँडो गर्नुपर्ने काम हो ढिला नगर। भोटले तोलाको १८ रुपैयाँमा दिन्छ भनेर खबर पठायौँ, १६ रुपैयाँमा मिलाऊ। कुटेको फुकेको नभई शुद्ध सुन लेऊ। पित्तलको धुलो मिसिएको हुन्छ होशियार हुनू। तोलाको १६ रुपैयाँमा दिएन भने इक सुका पनि थप। त्यतिमा पनि दिएन भने तोलाको १७ रुपैयाँ पनि लगाऊ। तोलाको १७ रुपैयाँमा मिल्यो भने १२ देखि १५ हजार तोलासम्म सुन खरिद गर्ने आँट गर।

यो पत्रको जस्तोको तस्तैः

स्वस्तिश्री गिरिराजत्यादि मन्महाराजाधिराज श्रीश्रीश्री

मत्पृथ्वीनारायण साहदेवनां सदासमर जियनाम्

स्वस्तिश्री सर्वोपमा जोगेत्यादि श्री हरि पंडितकेषु जेथा जो

गपूर्वक पत्रमिदं इहा कुसल ताहा कुसल चाहिय जेहिते परम

आनंद होइ. आगे पत्र आयो अर्थ मालुम भयो उप्रांत जय वि

ति गरि पठायाका छौ जोगे विंति गरि पठायाछौ तर अलि ढिल

गरेउ चाडो गन्र्या काम हो अव ढिलो नगर ताहाका जस्तो ष

बर पाउछौ जस्तो षबर. चाडो  पढाउन्या गर उप्रांतम कु

ति गयां र भोट्याहरुकोसोह्रको भावमहां त भयन अठार

भन्या दिन्छौ भन्या. सुना पनि दिन तयार भया. १८ भाव

महां नमिल्दा म षासाको जगातसंम उठेर आउदा 

भोट्याले थामि पठाया र म थामिया भोट्यासं मै

ले यति वोंल्यां कुटन फुकन चाहि भाव सोह्रै

भनि मैले भनि राष्या छ भनि पठायाछौ. परन्तु कुटिफुकि नाहि

उसै स्वर्हलाई दिन्या भया आँटक्या होला परंतु

सुन घटिया नलेव. पीतलको धुलो मिस्याको हुन्छ

तस्माहा पनि नजर राषिकन लेव कदाचित स्वर्हलाई

त दिएनन्त तिमिले पेटमहा राषनु चाहिन्छ नकुटि

नफुकि स्वर उपर सुका थप भन्या पनि आंट यति 

महा पनि कदाचिन नपस्या पनि नकुटि नफुकि 

सत्रको भावसंम 

तेति रुपिया मात्र मिलन्या भया तेतेकै राष सुन लेव

नाहि सुन ज्मा बाह्र पंध्र हजार तोला निस्कन्या भया आंट

यो पल्लो छेउको कुरो हो पेट राषि गर ऐस्कागत

को सुझ भोट्याले पाया भोट्या चन्हार्न तस्कार

ण यो काम पेट राषि गर. परन्तु सुन आफना नजर

विदि वोहण भनि आपना इस्टमित्र बुझि विन

ति गरि पठाव. तहाँ वस्दोवस्त वन्यादेषि सुना प

नि पठाइदेव. एति रुपिया पठाइ देव ये

ति सुना मिलन्या छ भनि णिस्तुक पनि विनति 

गरि पठाव. भोटको क्या ह किकत छ स्व पनि वि

धि विस्ता विनति गरि पठाव

उप्रांत इहाँको हकिगत सुवेरु काठ पनि

साँध माहा पुर्याइउ अरु समाचार पनि

आनन्द छ. उप्रान्त राहात वन्द गर छा

छैन. विधि विस्तार नराज वस्न्यात

चंद्र मान पंडित कहानान् स्व सहि

ताहा चालिस पचास मुरि अन्न भोट

भयो भन्याको सुनिउ. त्यो कस्को वा

को वाछ गये विसेद गरि राष विज्ञषु

किमधिकं मिति फाल्गुण सुदि ६ रो

ज ५ मुकाम नुवाकोट माडि सुभं

सुनसम्बन्धी धर्मपत्र 

सुनको किनबेचका लागि यसको मूल्यमा तलमाथि नगर्न र हिसाबकिताब दुरुस्त राख्न तिब्बतका व्यापारी र पृथ्वीनारायण शाहबीच धर्मपत्र पनि भएको थियो। यो धर्मपत्रमा सुनको भाउ तलमाथि गरिए वा उपलब्ध गर्नुपर्ने सुन तलमाथि गरिए वा सुनको पैसा तत्काल नतिरे धर्मपत्रबमोजिम ठूलो पाप लाग्ने पनि कसम खाइएको छ। यो धर्मपत्रमा यस्तो लेखिएको छः

श्री दुर्गा

श्री कामिनी श्री भैरवी श्री लामाज्यू श्री सिंभुछत्र श्री वौद्ध

स्वस्ति श्री श्री श्रीमन्महाराजधिराज श्रीश्रीश्री मन्नृप पृथ्वीनारायणशाहलाई श्री छोआंपाजोर ढेवा. श्री नुर्वु ढेवा. श्रीफुंजो राप्तेन. श्री छिटुंडो. श्री वाज्यु उसित हामिले आज मपर्चंतको धर्म लेषि चाहर्यौँ. सुनाको भाउ. पोर रिंजींछिंवो लामाले ज्या भाव गर्याको हो सोहि भाउको सहि. तेस भाउदेषि घटि वढि गर्नुछैन. अव उप्रान्त सुनाको भाउमहा घटि बढि नगर्नु तिमीले पठायाका रुपैयाको सुना पनिआयो पुग्या भोलि दिनु अथवा चार दिनभित्र पुर्याइदिन सुनाको भाउ घटाा रुपैया अट्काया को हामिकन कुदृष्टि. सुनाको भाउमहा अघि लामाले गर्याका सहिमहां रह्या. रुपैया नअट्काया सुदृष्टि. फेरि सुनाको भाउमा घटि बढि गर्या ...को मठ भत्कायाको...को मठ भत्कायाको पाप लागोस कुतिभित्रको सुनाको यो करार हो. कुति बाहिडाको सुनाको चांडो षोजि दिनु. इति संवत १८१२ षौष सुदी १४ रोज ६ शुभम् (‘प्राचीन नेपाल’, सङ्ख्या ६१–६४–२०३७ पुस–२०३८ साउन, पृ. ३१)।

तिब्बती सुन व्यापारीहरुले पृथ्वीनारायण शाहलाई सुनसम्बन्धी करार गरेको यो पत्रबाट खुल्छ। उनीहरुले अघिल्लो सालबाट कायम भएको सुनको भाउमा कुनै पनि घटीबढी नहुने र सुन प्राप्त भएपछि त्यसको मूल्य तुरुन्तै भुक्तानी गर्न तथा सुनको भाउमा घटीबढी गरे आफूहरुलाई ठूलो पाप लाग्ने कुरा तिब्बती सुन व्यापारीहरुले उल्लेख गरेको पत्रबाट खुल्छ।

मधेशतिर सुन पैठारी

पृथ्वीनारायण शाह भोटबाट सुन किन्थे र मधेश अर्थात् भारततिर सुन बेच्थे (नयराज पन्त र अरु ‘पृथ्वीनारायण शाहको उपदेश’–२०२५, पृ.९६९–९७१)। यो पत्र पृथ्वीनारायण शाहले हरिदेव पण्डितलाई १८१३ चैत १२ गते लेखेका हुन्।

यस पत्रमा १८ रुपैयाँ तिर्न पनि तयार हुन पृथ्वीनारायण शाहले हरिदेव पण्डितलाई पत्रमा आदेश दिएका छन्। १८१३ चैत १२ गते लेखेका पत्रमा पृथ्वीनारायण शाहले उत्तर (तिब्बत)बाट आएको सुन दक्षिण (मधेस) तिर बेच्ने गरेको र मधेसबाट सुनका लागि व्यापारी (महाजन) का मानिस आउने गरेको संकेत पनि गरेका छन्। पत्रमा ‘मधेशबाट महाजनका मानिसहरु रुपियाँ लिकन यहाँ आइरह्याछन् टक्सार चलाउनु पर्यो अठारैलाई पनि आँट गर’ भनी उल्लेख गरिएबाट पृथ्वीनारायण शाह उत्तरतिरबाट सुन खरिद गरी दक्षिणतिर बेच्थे भन्ने प्रमाणित हुन्छ।

इतिहास शिरोमणि आचार्य अनुसार पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा कान्तिपुर कब्जा गरेपछि आफ्नो शुद्ध चाँदीको मुद्रा चलाएका थिए। तिब्बतमा आफ्नो मुद्रा चलाउनका लागि उनले आफ्नो मुद्रामा तिब्बती लिपीको प्रयोग गरेका थिए। त्यसका लागि उनलाई चोखो चाँदीको आवश्यकता पथ्र्यो। त्यसैले उनले तराई क्षेत्रलाई आफ्नो अधिकारमा लिएपछि त्यति आफ्नो मुद्रा चलाई मुगलबादशाहका मुद्रा खिचेर काठमाण्डौको टक्सारमा ल्याई त्यसलाई मासी नेपाली मोहरको मुद्रा ढाल्ने नियम बनाएका थिए, जसका कारण आफ्ना राज्यभर एउटै मुद्रा चलनचल्तीमा आओस् (आचार्य, उही, पृ. ४७५)।

 

अनुसार पृथ्वीनारायण शाहले कुतीतिरबाट आएको सुन राजकोषमा थन्याउनका किन्ने गरेका थिएनन्। उनले सुन विदेशी प्यापारीलाई बेचेर नाफा कमाउने उद्देश्य राखेका थिए (आचार्य, उही, पृ. ४७६)।

यसबाट के प्रमाणित हुन्छ भने आफ्नो राज्यलाई टिकाउन र राज्य विस्तारको अभियानका लागि पृथ्वीनारायण शाहले धनको सञ्चितीलाई पनि प्रमुखता दिएका थिए। यसका लागि उनी उत्तरतर्फ रहेको तिब्बतबाट सुन झिकाएर भारततिर बेच्थे र दक्षिणतिरबाट चाँदी जम्मा गरेर मुद्रा निस्कासन गर्थे।