काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबार थप चार कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको छ। 

नेप्सेले आर्थिक वर्ष २०७५/७६ वार्षिक प्रतिवेदन नेपाल धितोपत्र बोर्ड र नेप्सेमा पेस नगरेको भन्दै गत माघ २६ बाट रैराङ हाइड्रोपावर डेभलपमेन्ट, कालिका लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर लिमिटेडको धितोपत्र कारोबार रोक्का राखेको थियो। धितोपत्र बोर्डको निर्देशनमा यी कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको थियो।

यी कम्पनीले नेप्सेको कम्पनी लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीको वार्षिक वित्तीय विवरणहरु अपलोड गरेपछि रोक्का गरिएको धितोपत्र कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ। 

यसअघि वार्षिक वित्तीय विवरण पेस गर्ने ७ कम्पनीको नेप्सले धितोपत्र कारोबार फुकुवा गरिसकेको छ। नेप्सेले गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, पाँचथर पावर कम्पनी लिमिटेड, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी र नेसनल माइक्रोफाइनान्स लघुवित्तको धितोपत्र कारोबार फुकुवा गरिसकेको छ। यी कम्पनीको धितोपत्र कारोबार पनि वार्षिक वित्तीय विवरण पेस नगरेकै कारण गत माघ २६ गतेदेखि सेयर कारोबार नेप्सेले रोक्का गरको थियो।