काठमाण्डौ । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले ढल्केवर र धरान कृषि उपज बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ। 

धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोेले क्यूआर कोड सेवाको सुरुआत गरेका थिए। क्यूआर कोड सेवा सुरु भएसँगै ढल्केवर र धरान कृषि उपज बजारमा तरकारी तथा फलफुल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आपूmले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल सञ्चालकलाई सीधै खातामा भुक्तानी गर्न सक्नेछन्। 

नेपालमा थोरै समयको अन्तरालमा थुप्रै प्रविधिको विकास भएको र प्रविधिको अधिकतम उपयोग गर्न सके समय र पैसा दुवैको बचत हुने बैंकले जनाएको छ। 

कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका पदाधिकारी, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधि तथा स्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागिता थियो।

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको बैंकले हालैमात्र नेपाली कर्मसियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधि आफ्ना ग्राहकमाझ ल्याइसकेको छ।