काठमाण्डौ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखराकै सिद्धार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक क्यूआर कोड उद्घाटन समारोहको आयोजना गरेको हो। पोखराको नयाँबजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कामु निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्रे बैंकका सञ्चालक रोशन केसीले संयुक्त रुपमा उक्त समारोहको उद्घाटन गरे। 

कार्यक्रममा बैंकका सञ्चालक विश्वप्रकाश गौतम तथा सिर्जना कार्कीको पनि उपस्थिति रहेको थियो। 

यो सेवा सञ्चालनमा आएपछि हङकङ बजार तथा श्री कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।्। त्यसैगरी पोखरेली ट्याक्सी व्यवसायीअन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्यूआर कोड प्रयोग गरी भाडा तिर्न सक्नेछन्।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कामु निर्देशक सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानीमार्फत गर्न आमउपभोक्तालाई आग्रह गरे। 

ग्राहकले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ। 

पोखरामा सुरु गरिएको क्यूआर कोड सेवाका साथै माछापुच्छ्रे बैंकको क्यूआर कोड उपलब्ध भएका व्यावसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९ हजार पुगेको छ। 

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंकले हालैमात्र नेपाली कर्मसियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै– मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधि आफ्ना ग्राहकमाझ ल्याइसकेको छ।