काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३५ औँ वर्षको कोशेढुंगा पार गरेको छ। 

वार्षिकोत्सवका अवसरमा बैंकले कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकप्रति एक्येबद्धता प्रकट गर्नका लागि ‘सम्मान र्याली’ को आयोजना गरेकोछ। यसैगरी बैंकले स्वास्थ्यकर्मीका लागि उचित ब्याजदरमा प्रबर्धनात्मक कर्जा योजना पनि सुरुआत गरेको छ। 

बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, ई–कमर्श (ई–कम)/अनलाइन भुक्तानी र एसएमई/खुद्रा कर्जा आदि बैंकिङ सेवामा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ। यस अवसरमा बैंकले आफ्नो तेस्रो चित्रकथा (कमिक) पुस्तक ‘हाम्रोे सुख–दुःखका साथी, बैंक कति जाती’ नामक पुस्तक पनि सार्वजनिक गरेको छ। यो पहलअन्तर्गत ‘चिडियाखानाको भ्रमण’ र ‘बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता’ शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएका छन्। यी चित्रकथा पुस्तकहरु विगतका वार्षिकोत्सवमा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रकाशन गरिएका हुन्।  

यस अवसरमा बैंकले सम्पूर्ण ग्राहक, सरोकारवाला तथा  नियामक निकायका अधिकारीप्रति उनीहरुका सहयोग र मार्गदर्शनका लागि हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ। 

विगत ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहकहरू गरी १२ लाखभन्दा अधिक ग्राहकलाई सेवा पुर्याइसकेको छ। यस अवधिमा रु. १६९ अर्बको निक्षेप संकलन तथा रु. १५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रहरुमा बैंकिङ सुविधा उपलब्ध गराई राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्याउँदै आएको बैंकले जनाएको छ। 

बैंकले रु. ५ अर्बभन्दा बढीको देशभरि वित्तीय आवश्यता बढी रहेका ३० हजारभन्दा बढी व्यक्तिलाई सीधै लघु कर्जा उपलब्ध गराएको छ। देशका सातै प्रदेशमा फैलिएका ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत बैंकले बैंकिङ सेवा प्रदान गर्दै आएको छ।