काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा होटल तथा पर्यटन समूहअन्तर्गत सूचीकृत चन्द्रागिरी हिल्स लिमिटेड(सीजीएच) कम्पनीका सेयरमा लगानीकर्ताहरु उचालिँदा लगानी जोखिममा पर्ने खतरा बढेको छ ।

भर्खरै आइपीओ निष्कासन भई दोस्रो बजारमा कारोबार भई रहेको चन्द्रागिरी हिल्स लिमिटेडको सेयरमूल्य दैनिक पोजिटिभ सर्किट लागी उक्त कम्पनीको सेयरमूल्य बढाइएको पाइएको हो ।

किन फस्दैँछन् चन्द्रागिरी हिल्सको सेयरमा लगानीकर्ता?

अन्य होटलका औसत मूल्यभन्दा मूल्य उचालिँदै
नेप्सेमा सूचीकृत ओरियन्टल होटल(ओएचएल),तारागाउँ रेजेन्सी होटल(टीआरएच) र सोल्टी होटल(एसएचएल)का सेयरमूल्य क्रमशः रु.४८५,रु.३२० र रु.२०५  हाराहारीमा दोस्रो बजारमा कारोबार भइरहेका छन् । होटल सेक्टरको औसत मूल्य(इण्डष्ट्रियल एभरेज) नै रु.३०० प्रतिकित्ता हाराहारी दोस्रो बजारमा फालाफाल पाइरहेको छ । आज बुधबार चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशत पोजिटीभ सर्किट लाग्दै रु.८०४ प्रतिकित्ता कारोबार भइरहेको छ जहाँ अझै ६ लाख ८० हजार ६७४ कित्ता खरिदको पर्खाइमा देखिन्छन् भने बिक्री शून्यप्रायः छ ।

 

कम्पनीको वित्तीय अवस्था निकै कमजोर र नाजुक
कम्पनी ऐन,२०६३ अन्तर्गत स्थापित तथा सञ्चालित चन्द्रागिरी हिल्सको आ.व.२०७५(७६मा प्रति सेयर नेटवर्थ रु.९६.९६ मात्रै छ र प्रति सेयर आम्दानी(इपीएस)रु.०.०६ मात्रै रहेको सोही कम्पनीले सार्वजनिक गरेको विवरण पत्रमा उल्लेख छ । ३ करोड ३० लाख ९५ हजार सञ्चित नोक्सान भएको कम्पनीले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा आ.व.२०७६(७७ मा प्रतिसेयर नेटवर्थ घटेर रु.८४.८८ रहेको अपरिष्कृत विवरणमा बताइएको छ भने इपीएस नेगेटिभ १२.६७ रहेको जनाइएको छ । सोही आ.व.मा सञ्चित नोक्सानी चुलिएर २० करोड ४१ लाख बढी नाघेको छ ।
कम्पनीले नै प्रक्षेपण गरेको आ.व.२०७७(७८(हाल)नेटवर्थ रु.९०.६९ रहेको छ भने इपीएस केबल रु.४ मात्रै रहेको जनाएको छ । यसैबीच सञ्चित नोक्सानी १४ करोड २७ लाख रुपैयाँ बढी रहने प्रक्षेपण कम्पनीको छ ।

साधारणतया कम्पनीको आधारभूत पक्षको विश्लेषण उक्त कम्पनीको वित्तीय अवस्थाले छर्लगंै बनाउँदछ । यो आ.व.मा प्रतिसेयर नेटवर्थ रु.९०.६९ रहेको छ भने इपीएस केबल रु.४ मात्रै रहेको कम्पनीको दाबी छ । सामान्यतया नेटवर्थको ३गुणासम्म सो कम्पनीको सेयरमूल्य रहनु जोखिमरहित लगानीका रुपमा हेरिन्छ तर कम्पनीको इपीएस रु.४ मात्र देखिएकाले लगानीकर्ताहरुलाई प्रतिफल भने हातमा लाग्यो शून्यको अवस्था छ । बढ्दो बजारमा उचालिएर सेयरमूल्य उच्च तिरी खरिद गर्दा कालान्तरमा सो कम्पनीको सेयरमूल्यमा पहिरो गएपछि भने पुर्पुरोमा हात लगाउनु शिवाय अन्य केही विकल्प रहँदैन । अर्थात् दोस्रो बजार अन्यन्तै जोखिम भएकाले कम्पनीको वित्तीय अवस्था बलियो र मजबुत भएका कम्पनीमा लगानी गरे भविष्यमा पछुताउनुपर्दैन ।
कम्पनीको लगानी कहिले उठ्छ?
चन्द्रागिरी हिल्सका अनुसार यो परियोजनामा गरिएको साधारण लगानी फिर्ता हुने अवधि ७.९ वर्ष लाग्ने र परियोजनाको डिस्काउन्टमा लगानी अवधि १०.९२ वर्ष लाग्नेछ । कम्पनीको खुद वर्तमान मूल्य ४५ करोड ५८ लाख ७१७ रुपैयाँ रहेको छ भने आआरआर २०.४ प्रतिशत रहेको जनाएको छ । साधारण लगानीको लागत उठ्न नै ८ वर्ष लाग्ने भएपछि कम्पनीले आगामी दिनमा कस्तो प्रतिफल दिने र कम्पनीको भविष्य कता जाला भन्ने हेक्का भने लगानीकर्ता स्वयंले निर्धारण गर्नुपर्छ ।

कम आपूर्ति भएका सेयरमूल्य उच्च हुनुपर्छ भन्ने भ्रम 
नेपाली सेयरबजारमा कम आपूर्ति भएका सेयरको मूल्य उच्च हुन्छ भन्ने आम भ्रम छ तर उक्त कम्पनीमा गरिएको लगानी सुरक्षित छ कि छैन भन्ने विषयमा भने लगानीकर्ता वर्तमान समयमा नै गम्भीर हुनुपर्छ । 
चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता अर्थात् १३ करोड ९६ लाख २२ हजार रुपैयाँ बराबरको आइपीओ गत पुस २२ गतेदेखि २८ गतेसम्म जारी गरेको थियो । कम्पनीको दोस्रो बजारमा भर्खरै कारोबार सुरु भएको र कम आपूर्ति भएकाले उच्च माग देखिन्छ । आम लगानीकर्ताले प्रतिकित्ता रु.१ हजार माथि नै पुग्ने र कम आपूर्ति भएको सेयर भएको भन्दै उचालिएर धमाधम सेयर किनिरहेका देखिन्छन् तर कम्पनीको वित्तीय अवस्था र कम्पनीले प्रदान गर्ने प्रतिफलको आशा भने नगर्दा हुन्छ । 

चन्द्रागिरी हिल्सको अधिकृत पूँजी २ अर्ब रुपैयाँ छ भने चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ ।