काठमाण्डौ । महाशिवरात्री पर्वका अवसरमा नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहीबार गरी करिब ५०० भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिकस्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्ससहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स लगायतको चिकित्सकीय टोलीले बुधबार अपराह्नदेखि बिहीबार रातिसम्म सेवा सञ्चालन गरेको हो। शिविरमा केही आकस्मिक अवस्थाका बिरामी तथा साधारण चेकजाँचका लागि थुप्रै व्यक्ति सहभागी भएका थिए। सेवा प्राप्त गर्ने अधिकांश भक्तजनमा साधारण घाउ, चोटपटक र कमजोरी भएको पाइएको थियो।  

पशुपतिनाथमा अघिल्ला वर्षहरुमा जस्तो भीडभाड नभए पनि स्वास्थ्यप्रतिको सबैको चासो बढेका कारण शिविर स्थलमा थुप्रै भक्तजनहरुले अवलोकन गरेका थिए। ब्लड प्रेसर तथा मधूमेह परीक्षण गर्नेहरुको पनि बाक्लो सहभागिता रहेको थियो। 

अस्पतालले यस किसिमका निःशुल्क स्वास्थ्य शिविरहरु आयोजना गर्दै आइरहेको छ भने कोभिड–१९ संक्रमण नियन्त्रणमा आएसँगै शिविर तथा जनचेतनामूलक कार्यक्रममा थप सक्रियता बढाउँदै जाने महाप्रबन्धक विजय रिमालले बताए।