काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा रामबहादुर मानन्धर चयन भएका छन्। 

सञ्चालक समितिको आज सम्पन्न बैठकले मानन्धरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। मानन्धरले आजै नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिनासँग एक औपचारिक कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहरण गरेका छन्। 
तत्कालीन अध्यक्ष नरेश शाक्यको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भएपछि  मानन्धरले क्लियरिङ हाउसमा प्रतिनिधित्व गरेका हुन्। 

नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एकजना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक र वित्तीय कम्पनीबाट एक¬–एकजना प्रतिनिधि रहेका छन्। एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो। 

यसको एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएस, कनेक्ट आरटीजीएस, एनपीआई र कर्पोरेट पे प्रणाली सञ्चालनमा रहेका छन्।