काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडले राजधानीको ट्राफिक व्यवस्थालाई सघाउने उद्देश्यले काठमाण्डौको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको छ। 

सोमबार एक कार्यक्रमका बीच बैंक सञ्चालक रोशन केसी र विश्व प्रकाश गौतमले ती ट्राफिक लाइटहरु महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई  हस्तान्तरण गरे। सवारी आवागमनलाई सुरक्षित एवं व्यवस्थित बनाउने विश्वासका साथ बैंकले सवारीसाधानको अत्याधिक चाप रहने राजधानीको लैनचौर चोक तथा राष्ट्रपति निवाससँगै रहेको पुलिस एकेडेमी चोकमा ट्राफिक लाइटको व्यवस्था गरेको हो। 

हस्तान्तरण कार्यक्रममा बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्राफिक लाइटको अभावका कारण राजधानीको ट्राफिक आवागमनमा प्रायजसो समस्या देखिने गरेको कुरालाई मनन गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक लाइटहरु हस्तान्तरण गरेको बताए। 

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले माछापुच्छ्रे बैंकले प्रदान गरेका ट्राफिक लाइटले आमनागरिकमा ट्राफिक नियमको पालना गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।