काठमाण्डौ। नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार माछापुच्छ्रे बैंक लिमिटेडले ‘एमबीएल स्मार्ट डलर कार्ड’ सञ्चालनमा ल्याएको छ। 

माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यानकार्ड पेस गरी ५०० अमेरिकी डलरबराबरको कार्ड प्राप्त गर्न सक्नेछन्। उक्त कार्डमार्फत भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम ५०० अमेरिकी डलरबराबरको ई–कमर्स साइटमार्फत अनलाइन भुक्तानी गर्न सक्नेछन्। 

आफ्नो कार्डमार्फत ग्राहकले एकैपटक वा पटक–पटक गरी एक बर्षमा ५०० अमेरिकी डलरबराबर को कारोबार गर्न सक्नेछन्। 

स्थापनाकालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालैमात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै– मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दति खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधि आफ्ना ग्राहकमाझ ल्याइसकेको छ।