काठमाण्डौ । अस्वाभाविक रुपमा उकालो लागिरहेको चन्द्रागिरी हिल्स लिमिटेडको सेयर भाउ आज ओरालो लागेको छ। यसले यो पुष्टि गर्छ कि सेयर कर्नरिङ गरी यो कम्पनीको मूल्य उचालेका गिरोहहरुले अब सोझा लगानीकर्ताहरुलाई भिडाउने खेल सुरु गरेका छन्। 

लगातार ३३ दिन चन्द्रागिरीको मूल्य उचालेर त्यस्ता गिरोहले आजबाट सेयर भिडाउने खेल सुरु गरेका हुन्। जसका कारण आज यो कम्पनीको सेयरको किन्नेभन्दा बेच्ने बढी देखिएका छन्। 

यो समाचार तयार पार्दा (दिउँसो १ बजे) सम्म चन्द्रागिरीको सेयरभाउ ४ प्रतिशत बढीले ओरालो लागिसकेको छ। अहिलेसम्म यो कम्पनीको सेयरमूल्य ८४ रुपैयाँले घटेर प्रतिकित्ता १ हजार ९९५ रुपैयाँमा झरेको छ। 

मार्केट डेप्थमा यो कम्पनीको २७ हजार २५९ कित्ता खरिद पोस्ट भएको छ भने ३७ हजार ८२६ कित्ता बिक्री पोस्ट भएको छ। यसले अब सेयर कर्नरिङमा उत्रेको गिरोहले उच्च मूल्यमा यो कम्पनी सेयर भिडाउनेतिर लागेको प्रस्ट हुन्छ। 

होटेल तथा पर्यटन समूहमा सूचीकृत यो कम्पनीको सेयर यसअघिको अन्तिम कारोबार मूल्य २ हजार ७९ रुपैयाँ रहेको छ। जब कि यही समूहमा रहेका अन्य कम्पनीको मूल्य ४०० रुपैयाँभन्दा मुनि रहेको छ। 

चन्द्रागिरीको वित्तीय विवरण सरसर्ती हेर्ने हो भने अहिले दैनिकजसो पोजिटिभ सर्किट लाग्नु पछाडि बलियो आधार देखिन्न। जस्तो कम्पनीको २०७६/७७ मा प्रतिसेयर आम्दानी रु. १२.६७ ले ऋणात्मक थियो । चालु आर्थिक वर्षमा समेत कम्पनीको इपीएस रु. ४ मात्र हुने प्रक्षेपण गरिएको छ। प्रतिसेयर नेटवर्थ अघिल्लो वर्ष ८४.८८ रुपैयाँ रहेकोमा यो वर्ष ९०.६९ रुपैयाँ मात्र हुने प्रक्षेपण गरिएको छ।

नेटवर्थमा औसत प्रतिफल अघिल्लो आर्थिक वर्ष  १४.९३ प्रतिशतले ऋणात्मक थियो भने चालु आर्थिक वर्षमा ४.४१ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ। १ अर्ब ५३ करोड सेयर पूँजी रहेको यो कम्पनीको चालु आर्थिक वर्षको अन्तसम्म ६ करोड १३ लाख रुपैयाँ हाराहारीमा खूद नाफा हुने प्रक्षेपण स्वयम् कम्पनीको देखिन्छ। नाफा रकम सबै लाभांशको रुपमा बाँड्दा पनि कम्पनीले यो वर्ष लगानीकर्तालाई ४ प्रतिशतको मात्र रिटर्न दिनसक्छ। यति न्यून रिटर्न दिने कम्पनीको मूल्य दैनिक रुपले पोजिटिभ सर्किट लाग्नुले समेत दोश्रो बजारमा कुन हदसम्मको खेल हुन्छ भन्ने कुरा प्रष्टिन्छ। 

यो कम्पनीको यो प्रक्षेपित आम्दानी तथा नाफा कोभिडको संक्रमण पुनः बढेसँगै प्रभावित हुनसक्छ। तर, यस्ता विषयमा लगानीकर्ताले ध्यानै नै दिएका छैनन्। बरु आँखा चिम्लिएर कमजोर वित्तीय विवरण र सूचक भएका र कोरोना नियन्त्रणका लागि लकडाउनसम्मको असहज परिस्थिति दोहोरिएको खण्डमा निकै ठूलो प्रभाव पर्ने यही कम्पनीको सेयरमा लगानी खन्याइरहेका छन्। 

यो कम्पनीको विगत ३ वर्षको नेटवर्थमा भएको प्रतिफल शून्य प्रतिशत छ। यो कम्पनीको जगेडा कोष चालु आर्थिक वर्षको अन्तसम्ममा १४ करोड २७ लाखले ऋणात्मक हुने स्वयम् कम्पनीको प्रक्षेपण देखिन्छ । तर, यति कमजोर कम्पनीमा लगानीकर्ता भने छोटो समयमै मोटो रकम कमाउने सपना देख्दै अपहत्ते गरिरहेका छन्। 

यही समूहमा सूचीकृत अन्य कम्पनीको सेयरमूल्य र उसको वित्तीय विवरणको तुलना गरेर हेर्ने हो भने ती कम्पनी लगानीको हिसाबले निकै कम जोखिमपूर्ण देखिन्छन्।