काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडहोनोम गेब्रेयससले कोरोनाभाइरस उत्पत्तिका विषयमा थप गहन अध्ययन आवश्यक रहेको बताएका छन्। 

चिनियाँ प्रयोगशालाबाट यो भाइरसको उत्पत्ति भएको सर्वत्र चर्चा चलिरहेको अवस्थामा प्रमुख टेड्रोसले यस्तो धारणा सार्वजनिक गरेका हुन्। ‘चिनियाँ प्रयोगशालाबाट यो भाइरस उत्पत्ति भएको प्रमाणित हुनेसम्भावना कम छ’, उनले भने, ‘बिना गहन अध्ययन यसबारे बोल्न उचित हुँदैन।’

अमेरिकालगायत केही देशले डब्ल्यूएचओलाई चीनले समयमै यो भाइरसका विषयमा प्राप्त जानकारी नदिएकोमा आलोचना गर्दै आएका छन्। चीनले लगातार उसको प्रयोगशालाबाट यो भाइरस उत्पत्ति भएको आरोप खेप्दै आएको छ।

डब्ल्यूएचओको विशेषज्ञहरुको एउटा टोलीले गत जनवरी १४ देखि फेब्रुअरी १० तारिखसम्म चीनको वुहान सहरमा कोरोनाभाइरस उत्पत्तिका विषयमा अनुसन्धान गरेको थियो। वुहान सहरमा सन् २०१९ को डिसेम्बरमा पहिलोपटक यो भाइरसबाट संक्रमित भएको घटना सार्वजनिक भएको थियो। 

विशेषज्ञहरुको टोलीले यो भाइरस चमेरोबाट मानिसमा फैलिएको सम्भावना अधिक रहेको जनाएको छ।

यो भाइरसको दोस्रो लहर फेरि विश्वभर फैलिन थालेको छ। कतिपय देशहरुले कडा प्रतिबन्धहरु लगाएका छन्। – एजेन्सी