काठमाण्डौ। सनराइज बैंक लिमिटेडले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ३ सिवामा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। 

योसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ७४ पुगेको छ। बैंकले खोलेको सो शाखारहित बैंकिङ सेवाको व्यवसाय प्रतिनिधिका रुपमा पदमबहादुर बुढाथोकीलार्ई नियुक्त गरेको छ। 

एक कार्यक्रमबीच बुधबार उक्त शाखारहित बैंकिङ सेवा उद्घाटन वडा नं. ३ का वडाअध्यक्ष आइतराम लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ३ का वडासदस्य तेजविर लिम्बु, सिवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतम, स्थानीय व्यवसायी तथा समाजसेवी अग्निप्रसाद सिग्देल, सनराइज बैंकको फुङलिङ शाखाका शाखा प्रबन्धक ध्रुवप्रसाद बास्कोटा र शाखाका अन्य कर्मचारीको समेत उपस्थिति थियो। 

शाखारहित बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ। 

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ।

हालसम्म बैंकले १३९ वटा शाखा, ७४ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै, बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानमा पनि बैंकिङ सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ।