काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिकमाझ डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने अभियान सञ्चालन गरिरहेको माछापुच्छ्रे बैंकले नेपालगन्जको पवित्रस्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सुरु गरेको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रबार एक कार्यक्रमबीच पवित्र वागेश्वरी मन्दिरमा क्यूआर कोडमार्फत भेटी चढाई उक्त सेवाको सुरुआत गरेका हुन्। कार्यक्रममा गभर्नर अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्यूआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुआत गरेको उल्लेख गर्दै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए। 

गभर्नर अधिकारीले क्यूआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाइका लागि हरेक वर्ष देशबाट बाहिरिने ठूलो धनराशि कटौती हुने हँुदा सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने कुरा जानकारी दिए। 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलशमशेर राणाले वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्यूआर कोड सेवा सुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिए। 

कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा वीरेन्द्रप्रसाद महतोले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्यूआर कोड सेवाले डिजिटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे। 

कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्यूआर कोडबारेमा प्रकाश पारेका थिए। 

बाँके जिल्लाका प्रमुख अधिकारी शिवराम गेलालले माछापुच्छ्रे बैंकले बाँकेको प्रसिद्ध पवित्रस्थल बागेश्वरी मन्दिरमा सुरु गरेको क्यूआर कोड सेवाको सफलताका लागि शुभकामना व्यक्त गरे। 

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्नेलगायतका थुपै सुविधाहरुका कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ। यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।  

बैंकले देशका विभिन्न स्थानमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवालगायतका विभिन्न व्यसायीलाई प्रदान गरेको क्यूआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ। डिजिटल बैंकिङ सेवाको पहुँच नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ।