काठमाण्डौ । लगातार सेयर कर्नरिङ गरेर सुनियोजित ढंगले दोश्रो बजारको मूल्य बढाइएको चन्द्रागिरी हिल्स लिमीटेडको तेश्रो त्रैमासको वित्तीय विवरणले लगानीकर्तालाई झड्का दिएको छ । 

यो कम्पनीको तेश्रो वित्तीय विवरणमा खूद नाफातर्फ पहिरो गएको देखिएको छ भने प्रतिसेयर आम्दानी, रिजर्ब तथा कोष, संचालन आम्दानी पनि ह्वात्तै घटेको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो कम्पनी १८ करोड ११ लाख रुपैयाँ खूद घाटामा गएको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनी २ करोड १८ लाख रुपैयाँले मात्र घाटामा गएको थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले ४१ करोड २२ लाख संचालन आम्दानी गरेकोमा त्यो घटेर यो वर्ष १७ करोड ४२ लाखमा सीमित बन्न पुगेको छ । यो भनेको ५७.७३ प्रतिशतको पहिरो हो । 

अघिल्लो वर्ष ५ करोड ४९ लाखले नेगेटिभ रहेको रिजर्ब यो वर्ष ३२ करोडले नेगेटिभ बनेको छ । नेगेटिभ रिजर्ब ४८४ प्रतिशतले बढेको हो । 

अघिल्लो वर्ष ३ करोड ७९ लाख रहेको प्रशासनिक खर्च केही घटी ३ करोड २८ लाखमा सीमित भएको छ भने प्रतिसेयर आम्दानी कम्पनीको प्रक्षेपणविपरीत ११ रुपैयाँ ८१ पैसाले नेगेटिभ छ । कम्पनीले चालु आर्थिक वर्षका लागि ४ रुपैयाँले मात्र इपीएस नेगेटिभ हुने प्रक्षेपण गरेको थियो । 

दोश्रो बजारमा २४०० रुपैयाँ माथि अन्तिम कारोबार मूल्य रहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ अघिल्लो वर्षको ९५.९३ रुपैयाँबाट घटेर ७९.०९ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

कम्पनीको पीई रेसियो २१०.४८ गुणाले नेगेटिभ देखिएको छ भने चालु अनुपात २.८६ रहेको छ । 

कम्पनीले कोभिड १९ बाट देशको अर्थतन्त्रसँगै कम्पनीको आर्थिक क्रियाकलापमा पनि प्रभाव परी आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको बताएको छ । 

समीक्षा अवधिमा यो कम्पनीले संचालन गरेको केवलकारमा औसतमा दैनिक १४०० जना आगन्तुक र रिसोर्टमा औसत अकुपेन्सी ४० प्रतिशत कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।