काठमाण्डौ। प्रविधिको क्षेत्रमा विश्वमा ट्रेन्ड सेटिङ मोबाइल फोनका रुपमा देखिएको रियलमीले फाइभजी विकासका लागि पछिल्लो प्रतिबद्धता घोषणा गरेको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्काई लिले खुला घोषणापत्रद्वारा फाइभजीलाई लोकप्रिय बनाउन कम्पनीले दरिलो प्रयास गरिरहेको बताए। सीईओ लीले घोषणापत्रमा नयाँ योजनाका रुपमा फाइभजीको अपग्रेड तथा विश्वमा अधिकतम प्रयोगकर्तालाई यस प्रविधिमा जोड्ने योजना बनाएको जानकारी दिए।

लीका अनुसार रियलमीले आफ्नो फाइभजी प्रक्षेपण वृद्धि गर्ने र आगामी २ वर्षभित्र पूर्ण रुपमा उच्च प्रदर्शनका साथ तथा ट्रेन्ड सेटिङ डिजाइनसहितका सुलभ फाइभजी उत्पादनलाई ७० प्रतिशत ग्राहकमाझ पुर्याइसक्ने लक्ष्य लिएको छ। पहिलो चरणमा भारत तथा दक्षिण एसिया र युरोपका बजारलाई प्राथमिकतामा राखी त्यसपश्चात अन्य क्षेत्रमा आफ्नो रियलमीका फाइभजी उत्पादनको बजार व्यवस्थापन गर्ने योजना बनाएको छ। धेरैभन्दा धेरै प्रयोगकर्तामाझ उच्च गति एवं कम विलम्बताका साथ गुणस्तरीय अनुभूतियुक्त फाइभजी प्रविधिको सेवा प्रदान गर्नु नै कम्पनीको उद्देश्य रहेको छ। 

यसैगरी रियलमीले विशेषगरी आफ्ना युवा प्रयोगकर्तालाई प्राथमिकतामा राखी विश्वभर सातवटा फाइभजी समर्पित खोज तथा अनुसन्धान समूह स्थापना गरी ९० प्रतिशत खोज तथा अनुसन्धानको स्रोतसाधनसहित थप ३ करोड अमेरिकी डलर फाइभजी प्रविधिको विकासमा खर्च गर्ने तयारी गरेको छ। 

विश्वको सातौँ ठूलो र तीव्र बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले ‘चुनौतीदेखि उन्नतिसम्म’ नाराका साथ द्रूतगतिमा फाइभजी  नेटवर्कको विस्तार गरिरहेको छ। पहिलोपटक २०१९ जनवरीमा फाइभजी नेटवर्कसहितको ‘एक्स ५० फाइभजी’  सार्वजनिक गरेलगत्तै रियलमीले विभिन्न मूल्यका रेन्जमा फाइभजी सिरिजका स्मार्ट फोनहरु विश्वभर सार्वजनिक गर्दै आएको छ भने तिनले बजारमा एकछत्र राजगर्न पनि सफल भएका छन्।