काठमाण्डौ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुले बेला–बेला कर्मचारीहरुका लागि स्वेच्छिक अवकाश योजना(भीआरएस)को स्कीम ल्याउने गर्दछन् । यस्ता स्किमहरुको खासै चर्चा पनि हुने गर्दैन । ठूला बैंकहरुले पनि यस्ता स्किम ल्याउँदा १५–१६ महिना बराबरको तलब मात्र दिएर कर्मचारीलाई विदा गर्ने हुँदा त्यसको खासै लेखाजोखा हुँदैन । तर, नेपालको बैंकिङ उद्योगमै कतिपय बैंकहरुले कर्मचारीका लागि निकै आकर्षक भीआरएस स्किम ल्याउने गरेका छन् । त्यस्ता स्किममध्ये कुनैको चर्चा हुन्छ भने कुनैको हुँदैन । 

पछिल्लो समय सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले पनि आफ्ना कर्मचारीका लागि यस्तै आकर्षक, बैंकिङ उद्योगमै पृथक भीआरएस स्किम संचालन गर्यो । यो स्किमको खासै चर्चा चाहिँ भएन । तर, बैंकले ल्याएको यो स्किम कर्मचारीका लागि आकर्षक त थियो नै अन्य बैंकहरुका लागि समेत प्रेरक थियो ।

सांग्रीला डेभलपमेन्ट बैंकस्थित एक स्रोतकाअनुसार केही समयअघि ल्याइएको भीआरएस स्किममा कर्मचारीहरुले २४ महिना बराबरको तलब एकमुष्ट पाएका थिए । बैंकबाट गाडी सुविधा पाइरहेका कर्मचारीहरुलाई आफूले चढिरहेको गाडी समेत साथमै लैजान दिइएको थियो । तलबभत्ताका साथमा कर्मचारीहरुले आफूले काम गरिरहेको अवधिसम्मको बोनस पनि पाएका छन् । 

बैंकले कर्मचारी स्वेच्छिक अवकास योजना २०७७ ल्याई सेवाअवधि तथा उमेरका हिसाबले योग्य ठहरिएका कर्मचारीहरुलाई कर्मचारीहरुको स्वेच्छिक आवेदनका आधारमा उचित सम्मानका साथ थप आर्थिक सुविधासहित अवकास दिने योजना ल्याइएको बताएको छ। 

कनिष्ठ अधिकृत तथा सोभन्दा उपल्लो तहमा रही लामो समय सांग्रिला डेभलपमेन्ट बैंकको बैंकिङ्ग सेवामा कार्य गर्दै आएका तथा आफ्नो व्यक्तिगत कारणले सेवाबाट अलग्गिन इच्छुक भएका कारण स्वेच्छिक रुपमा अवकास लिन चाहने कर्मचारीहरुलाई सेवाबाट अवकास प्राप्त गर्दाको अवस्थामा थप आर्थिक सुविधा प्रदान होस् भन्ने अभिप्रायले निवेदन दिएका कर्मचारीहरुलाई २ वर्षसम्मको तलवभत्ता तथा गाडीको सुविधा सहितको अवकास योजना ल्याइएको बैंक स्रोतले जनाएको छ ।

यस कर्मचारी स्वेच्छिक अवकास योजनामा सहभागिताका लागि आन्तरिक रुपमा बैंकले परिपत्र जारी गरी कर्मचारीहरुलाई आह्वान गरेकोमा देशभर रहेका विभिन्न शाखा कार्यालयमा कार्यरत अवकास योजनाका लागि योग्य कर्मचारीहरुमध्ये १२ जना यो स्किमका लागि आवेदन दिएका थिए । उनीहरु सबैको आवेदन स्वीकृत गरिएको थियो। 

यसअघि नेपालको बैंकिङ उद्योगकै आकर्षक भीआरएस स्किम कुमारी बैंकले ल्याएको थियो । त्यसपछि त्यस्तै आकर्षक स्किम ल्याउनेमा सांग्रीला बैंकको नाम समेत दर्ज भएको छ ।