काठमाण्डौ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा आज बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ।

तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमणको चेन ब्रेक गर्न तथा रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज नगर क्षेत्रमा एकहप्ते लकडाउनको घोषणा गरेको हो। यो लकडाउन वैशाख ८ गते मध्यरातबाट वैशाख १५ गते मध्यरातसम्म जारी रहने सीडीओ शिवराम गेलालले जानकारी दिए।

लकडाउनमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ। लकडाउनका क्रममा बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द रहने बाँके प्रशासनले जनाएको छ। 

अत्यावश्यक कामबाहेक मानिसहरु हिँडडुलमा समेत प्रशासनले रोक लगाएको छ। आज बिहानसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ७३५ पुगेको छ।