काठमाण्डौ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेकाहरुलाई चन्द्रागिरी केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेस गर्नुपर्ने चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ। 

कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो योजना यहीँ वैशाख ९ गतेबाट सुरु भई जेठ १७ सम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ। 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा चन्द्रागिरीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोटलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।