काठमाण्डौ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले भोलि बिहीबारदेखि अस्ट्रेलियासहित ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) जारी गर्न बन्द गरेको छ।

मन्त्रिपरिषदको निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणसम्बनधी आदेश जारी भइसकेको अवस्थामा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव नारायणप्रसाद पोख्रेलद्वारा बुधबार जारी सूचनामा उल्लेख छ

सूचनामा कोरोना संक्रमणको नयाँ भेरियन्ट फैलिरहेको र सरकारले हालै कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेकाले अर्को सूचना नभएसम्म ती ५ देशमा तत्कालका लागि नयाँ ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य स्थगित गरेको जनाइएको छ।

मन्त्रालयले ती देशमा नै अध्ययन गरिरहेका विद्यार्थीको हकमा भने वैदेशिक अध्ययन स्वीकृतिपत्र दिइने जनाएको छ।