काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत काठमाण्डौको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ। यस आयोजनाअन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उद्देश्य लिएको छ।

यो हरित उद्यान काठमाण्डौ महानगरपालिका वडा नं. २६ मा रहेको लैनचौर मैदानमा बनिरहेको छ।  उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थानलगायतका विषेशता रहनेछन्। यो उद्यान ५४९२१ वर्गफिट क्षेत्रफल रहेको हालको लैनचौर मैदानमा बन्नेछ।

एनसेल र काठमाण्डौ महानगरपालिका वडा नं. २६ ले एनसेलको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत यो हरित उद्यान निर्माण तथा संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ। समझदारी अनुसार एनसेलले काठमाण्डौ महानगरपालिकाले तयार तथा स्वीकृत गरेको डिजाइनअनुसार लैनचौर हरित उद्यान निर्माणकार्य गरिरेहकोे छ। 

ग्राउन्ड क्लेरेन्सको कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको छ। परम्परागत ढुंगेधारा, उद्यानमा आउने मानिसहरुका लागि पार्किङ, शौचालय सुविधा र सोलार बत्तीको व्यवस्था यस उद्यानका केही थप विषेशताहरु हुन्। 

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने, ‘सामाजिक आर्थिक विकासमा योगदान पुर्याउँदै तथा वातावरण क्षेत्रलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएका छौँ। यो पहलले समुदायमा स्वस्थ वातावरण निमार्ण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्यप्राप्तिमा योगदान पुर्याउने छ। सरकारसँग सहकार्य गर्दै काठमाण्डौको मुटुमा उदाहरणीय हरित उद्यान निर्माणका लागि योगदान पुर्याउन पाएकोमा हामी खुसी छौँ।’

‘यस सहकार्यका लागि हामी एनसेल प्रति आभारी छौँ। यस योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कुनै पनि सहयोग चाहिएमा हामी प्रदान गर्नेछौँ। यो हाम्रो समुदाय र वडाको एउटा ठूलो सम्पत्ति हुनेछ र साथै यसले स्वस्थ हराभरा सहर निर्माणमा योगदान दिनेछ’, काठमाण्डौ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्याम तिवारीले भने। 

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गतका शिक्षा र स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) लाई प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे छ। औद्योगिक व्यवसाय नियमावली २०७६ ले पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ। 

एनसेलले विभिन्न सामाजिक पहलअन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोग लगायतका विभिन्न क्षेत्रमा रु १.२७ अर्बभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासका लागि सहयोग पुर्याएको छ। स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र एनसेलको प्राथमिकतामा रहेको छ।  

वातावरण क्षेत्रअन्तर्गत एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम पनि गर्दै आएको छ। झन्डै १०.२ किलोमिटर दुरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको छ। 

यसअघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरेको थियो। यस पहलको सफल कार्यन्वयनपछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुला चरिचरन तथा अनियमित कटानमुक्त क्षेत्र’ पनि घोषणा गरिसकेको छ।