काठमाण्डौ । बैंकिङ उद्योगकै बहुचर्चित र बहुप्रतिक्षित हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर हुने समय तय भएसँगै नवील बैंक पनि तातेको छ । 

नवील बैंकले पनि एउटा वाणिज्य बैंक(मिले दुईवटा), एउटा विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई गाभेर उद्योगकै ठूलो साइजको बैंक बनिराख्ने रणनीति लिएको हो । 

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुने समय हेरेर बसेको नवील बैंकले पनि यो बीचमा जारी मर्जर छलफललाई टुंग्याउने प्रयास थालेको स्रोतहरुले जनाएका छन् । 

नवीलले विगत लामो समयदेखि नेपाल बंगलादेश बैंक, गरिमा विकास बैंक र यूनाइटेड फाइनान्ससँग मर्जरका लागि छलफल गरिरहेको छ । यो क्रममा यूनाइटेड फाइनान्स नवीलमा गाभिने निश्चित भइसकेको छ भने नेपाल बंगलादेश बैंकसँग पनि प्राप्तिका लागि चलाइएको छलफल निश्कर्षउन्मुख छ । यो बीचमा नवील बैंकले गरिमा विकास बैंकका केही संचालकहरुसँग पनि प्राप्तिका लागि छलफल गरेको थियो । सो क्रममा गरिमा विकास बैंकले ४० रुपैयाँको दरले नवीलमा गाभिने शर्त राखेको थियो । नवील ३० रुपैयाँभन्दा माथि बढ्न सकेको थिएन । तर, गरिमासँग अझै संभावित मर्जरको कुरा नटुंगिएको उच्च स्रोत दाबी गर्छ । ‘अन्तिम अवस्थामा ३५ रुपैयाँसम्ममा कुरा मिल्ने संभावना पनि देखिन्छ ।’ नवील बैंकमा लगानी रहेको चौधरी ग्रुपस्थित उच्च स्रोतले भन्यो–‘यदि कुनै कारणले गरिमासँग कुरा मिलेन भने नवीलले ३५ रुपैयाँ नै दिएर नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकलाई उठाउने संभावना समेत छ ।’ 

नवीलले नेपाल बंगलादेश बैंक, यूनाइटेड फाइनान्स र गरिमा वा एनसीसी बैंकमध्ये एउटालाई समान दर अर्थात ३५ रुपैयाँको दरले उठाउने संभावना अधिक रहेको स्रोतले दाबी गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मंगलबार मर्जरको समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको बताइएको छ । यदि यो मितिमा यी दुई बैंकबीच हस्ताक्षर भए त्यसको केही दिनपछि नै नवीलले पनि केही ‘बिग सरप्राइज’ दिने तयारी थालेको छ । 

‘नवीलले एकैपटक २ वाणिज्य बैंक, एक फाइनान्स र विकास बैंकलाई पनि गाभ्ने सम्झौता गर्यो भने अचम्म नमान्दा हुन्छ ।’–उच्च स्रोतले भन्यो ।