– अर्जुन तिमिल्सिना

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजबाट आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका स्थानीयका लागि ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ। 

आईपीओका लागि सिन्धुपाल्चोक र काठमाण्डौका विभिन्न स्थानमा संकलन केन्द्र पनि तोकिएका छन्। तर निषेधाज्ञा र कोरोना महामारीबाट उत्पन्न परिस्थितिका कारण घरबाट बाहिर निस्किन समस्या भइरहेकाले कतिपय लगानीकर्तालाई आईपीओ भर्न सकस भएको हुन सक्छ। मध्यभोटेकोशीजस्ता आकर्षक कम्पनीमा सेयर भर्न नपाइने हो कि भनेर उनीहरुमा चिन्ता पनि परेको हुन सक्छ।

नियमतः आयोजना प्रभावित र स्थानीयका निष्कासन गरिएको यस्तो आईपीओ सम्बन्धित जिल्ला र तोकेको संकलन केन्द्रमा गएर नै भर्नुपर्ने हुन्छ । तर अहिलेको अबस्थाले यो सम्भवाना नरहेको अवस्थामा घरबाटै भर्न सक्ने गरी विकल्प दिन थालिएको छ। 

यो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रबन्ध व्यवस्थापक पारसमणि ढकालका अनुसार आह्वानपत्रमा मागिएका कागजपत्र र प्रमाण जुटाएर ग्लोबल आईएमई क्यापिटलको वेबसाइट तथा ई–मेलमा पठाएर पनि आईपीओ भर्न सकिने व्यवस्था गर्न लागिएको छ। ‘आईपीओ भर्दा लाग्ने रकम भने ई–सेवा तथा कनेक्ट आईपीएसबाट भुक्तानी गर्न मिल्ने गरी प्रक्रिया सुरु गरेका छौँ’, उनले भने, ‘यसका लागि क्यापिटल लागिपरेको र ढिलोमा भोलिसम्म लगानीकर्ताले यसरी सुरक्षित रुपमा घरमै बसेर आईपीओमा आबेदन दिन सक्नेछन्।’

यसरी आईपीओ भर्न लगानीकर्ताले प्रस्टसँग बुझ्ने गरी फाराम भर्नुपर्ने ढकालले बताए। ‘सम्पर्क हुने फोन नम्बर दिनुपर्छ र नागरिकताको प्रमाणपत्र, बसाइसराइ तथा अन्य माग भएका सबै विवरण प्रस्ट बुझिने गरी आवेदन दिनुपर्छ’, उनले भने। 

मध्यभोटेकोशी आयोजनाका कार्यकारी निर्देशक रामगोपाल शिवाकोटीले सिन्धुपालचोकमा सुरक्षाको मापदण्ड पालाना गरी सौहाद्र रुपमा आईपीओ भर्ने काम भइरहेको बताए। उनले भने, ‘केही संकलन केन्द्रबाट फाराम सकिएको भन्दै माग आएको छ।’ 

काठमाण्डौलगायत बाहिर बस्नेका लागि भने ग्लोबल आईएमई क्यापिटलले अनलाइन माध्यमबाट व्यवस्था गर्न लागेको जानकारी आएको बताए। ‘यो लगानीकर्ताका लागि निकै राम्रो खबर हो’, उनले भने।