काठमाण्डौ । आयोजना प्रभावित र सिन्धुपाल्चोकका अन्य क्षेत्रका बासिन्दाका लागि मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्कासन गरेको आईपीओमा पहिलो दिन ०.०२२ प्रतिशतमात्र खरिद आवेदन परेको छ। 

कम्पनीले आजबाट आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ। आज यो आईपीओमा प्रभावित क्षेत्र र अन्य क्षेत्रका गरी कुल ६०१ आवेदकबाट १ लाख ३० हजार २८० कित्ता खरिद आवेदन परेको छ। जुन कुकल कित्ताको ०.०२२ प्रतिशतमात्र हुन आउँछ।

जसमा सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ गाविस र साविक मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण सेयर र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण सेयर निष्कासन गरिएको छ।

आज बैंकिङ समयसम्म आयोजना प्रभावित क्षेत्रका ६४ आवेदकले २० हजार ३०० कित्ता खरिदका लागि आवेदन परेका छन्। यो प्रभावित क्षेत्रका छुट्याइएको कुल कित्तामध्ये ०.११ प्रतिशतमात्र आवेदन परेको हो। 

यसैगरी प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका ५३७ आवेदकबाट कुल १ लाख ९ हजार ९८० कित्ताका लागि खरिद आवेदन परेको छ। जुन अन्य क्षेत्रका लागि छुट्याइएको कुल कित्तामध्ये ०.२६ प्रतिशतमात्र आवेदन परेको छ। 

आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि निष्कासन गरिएको आईपीओमा छिटोमा जेठ ४ गतेभित्र र ढिलोमा जेठ २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउनेछन्।

कम्पनीले पुँजी रु. ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण सेयरमध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको र बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ। सर्वसाधारणका लागि आईपीओ निष्कासन भने केहीपछि गरिने बताइएको छ। 

आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।