काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एपबाट मध्यभोटेकोशी जलविद्युत आयोजनाको आईपीओमा आवेदन दिन सकिने भएको छ।

दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दालाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाइको हो। आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक वासिन्दाले आइएमई पेमार्फत आवेदन दिन सक्ने बताउँदै अन्यलाई आवेदन दिनका लागि अर्को व्यवस्था गरिने उल्लेख गरे। 

यसरी आइएमई पेबाट आवेदन भर्दा निश्चित प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ। यदि आवेदकले पहिलोपटक आइएमई पे प्रयोग गर्दैछन् भने सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्दछ। आवेदकको कारोबारको सुरक्षा र गोपनीयाताका लागि नाम, थर, ठेगाना, सम्पर्क नम्बरलगायत आवेदकका सम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ। यसलाई बैंकिङ भाषामा ‘नो योर कस्टुमर (केवासी)’ फारम भनिन्छ। त्यसपछि आवेदक एपको गृहपृष्ठमा प्रवेश गर्न सक्नेछन्। त्यहाँ आवेदकले ‘आईपीओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि आईपीओसँग सम्बन्धित आफ्नो सवै विवरण भर्नुहोस् र त्यसलाई एकपटक रुजु गरी आफ्नो पिन कोड थिच्नुपर्छ। यसरी आवेदकले आफ्नै मोबाइलबाट घरमै बसी आइएमई पेमार्फत मध्यभोटेकोशीको आईपीओ भर्न सक्नेछन्। यसरी आईपीओ भर्दा आवेदकलाई कुनै अतिरिक्त सेवा शुल्क नलाग्ने क्यापिटलले जनाएको छ। 

मध्यभोटेकोशीले वैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोडबराबरको ६० लाख कित्ता सेयर निष्कासन गरेको हो। यसरी निष्कासन गरिएको आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म यो आईपीओमा आवेदन दिन सकिने क्यापिटले जनाएको छ।