काठमाण्डौ । संसारभर कोभिड–१९ को सन्त्रास फैलिरहेको अवस्थामा नेपाल पनि अछुतो रहेको छैन। 

संसारका ठूला मिडिया भनेर चिनिने सीएनएन र बीबीसीमा समेत नेपालको कोरोनाको पछिल्लो अवस्थाका बारेमा निरन्तर समाचार प्रकाशित भइरहेका छन्। आज सीएनएनमा प्रकाशित समाचारअनुसार नेपालमा कोभिड–१९ संक्रमणको मामिला रकेटको गतिमा तीव्र रुपमा बढेको र प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय सहयोगका लागि अग्रह गरेको बताइएको छ। 

उक्त समाचारअनुसार नेपालमा सरदर १ लाख जनामा २० जना दैनिक कोभिडका बिरामी थपिन थालेका छन्। सरकारी आँकडाअनुसार परीक्षण गरिएकाहरुमा ४४ प्रतिशतमा कोभिड पोजेटिभ भेटिएको छ। ‘भारतमा जे भइरहेको छ, त्यसको छाया नेपालमा पर्दै गएको देखिएको छ’, सीएनएनमा प्रकाशित समाचार भनिएको छ। 

सीएनएनका अनुसार गत २४ अप्रिलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा उद्घाटन गर्दा नेपालमा संक्रमणको मामिला जम्मा २ हजार ४०० थियो तर ५ दिनपछि २९ अप्रिलमा कोभिडका मामिला बढेर डबल ४ हजार ८०० भयो। ‘यसले प्रस्ट हुन्छ कि नेपालमा कुन गतिमा कोभिडका बिरामी थपिएका छन् ?’, सीएनएनले उल्लेख गरेको छ। 

सीएनएनले यसरी नेपालमा संक्रमणको मामिला बढ्नुमा भारतसँगको खुला सीमा, राजनीतिक दलका कार्यक्रमहरु, जात्रा तथा पर्वमा मानिसको भीड, कमजोर स्वास्थ्य प्राणाली तथा अस्पतालहरुका नाजुक भौतिक पूर्वाधारलाई दोष दिएको छ। ३ करोड जनसंख्याका लागि जम्मा १ हजार ५९५ आईसीयू तथा ४८० मात्रै भेन्टिलेटर रहेको हुँदा नेपालमा ठूलो विपत आउन सक्ने सीएनएनमा प्रकाशित समाचारमा चेतावनी दिइएको छ। 

समाचारमा छिमेकी देशहरुमा भन्दा नेपालमा थोरै डाक्टर तथा नर्स रहेको पनि बताइएको छ। विश्व बैंकको तथ्यांकअनुसार १० हजार जनसंख्याका लागि नेपालमा जम्मा ०.७ मात्रै फिजिसियन डाक्टर रहेको पनि समाचारमा जनाइएको छ। 

त्यसैगरी बीबीसीमा प्रकाशित समाचारमा एभरेस्ट बेस क्याम्पमा  रहेका सगरमाथा चढ्नहरुमा कोभिड पोजेटिभ देखिएको जनाएको छ। उक्त समाचारका अनुसार १७ जना विदेशी आरोहीहरुलाई कोभिड पोजेटिभ देखिएको र अस्पताल भर्ना भएको दाबी गरिएको छ।