काठमाण्डौ । आयोजना प्रभावित र सिन्धुपाल्चोकका अन्य क्षेत्रका बासिन्दाका लागि मध्यभोटेकोशी जलविद्युत कम्पनीले निष्कासन गरेको आईपीओ हाललाई स्थगित गरिएको छ। 

सिन्धुपाल्चोक जिल्लामा आज बिहीबार बिहान ६ बजेबाट वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएकोले मध्यभोटेकोशीको आईपीओमा आवेदन स्थगित गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका सीईओ पारसमणि ढकालले जानकारी दिए। ‘यो आईपीओमा हालसम्म परेका आवेदन स्वीकार्य हुनेछ’, उनले भने।

निषेधाज्ञा जारी भएपछि सिन्धुपाल्चोकमा सर्वसाधारणलाई हिँडडुलमा समस्या भएपछि आईपीओ स्थगित गर्नुपरेको ढकालले जानकारी दिए। ‘अब परिस्थिति सहज भएपछि मात्र अर्को सूचना प्रकाशित गरी आईपीओमा आवेदन खुला गरिनेछ’, उनले भने। 

कम्पनीले हिजो मंगलबारबाट आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। हिजो बुधबारसम्म यो आईपीओमा प्रभावित क्षेत्र र अन्य क्षेत्रका गरी कुल ३ हजार ३६९  आवेदकबाट ५ लाख ८८ हजार ३६० कित्ता खरिद आवेदन परेको थियो। 

आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि निष्कासन गरिएको आईपीओमा छिटोमा जेठ ४ गतेभित्र र ढिलोमा जेठ २० गतेभित्र आवेदन दिइसक्नुपर्ने भनिएको थियो। स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउने भनिएको थियो। 

आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।