काठमाण्डौ । निषेधाज्ञा जारी भएको एक सातामा सेयर बजारमा उत्साहजनक सहभागिता देखिएको छ। 

सेयर बजारमा निषेधाज्ञासँगै अनलाइन कारोबार अनिवार्य गरिए पनि लगानीकर्ता सक्रिय झनै बढेको देखिन्छ। बजारलाई कारोबार रकम साथ दिएको देखिन्छ। 

यो साता बजारमा थोरै अंकको मात्रै उतारचढाव देखियो। सातामा ५ दिन धितोपत्र कारोबार भएमा ३ दिन झिनो अंकले घट्यो भने २ दिन बजार बढेको छ। समग्रमा यो साताभरि नेप्से परिसूचक २६ अंकले उकालो लागेको छ। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंकले घटेर २६३७.१३ को विन्दुमा बन्द भएको छ। 

बजारमा यो साता बीमा कम्पनीहरुको प्रदर्शन सन्तोषजनक रह्यो। तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बीमा कम्पनीहरुको व्यवसाय र मुनाफामा सुधार देखिएका कारण सेयरभाउ पनि बढेको देखिन्छ। 

यो साता दुुईवटा जीवन बीमा कम्पनीबाहेक अन्य सबै जीवन बीमा कम्पनीको सेयरभाउ उकालो लागेको छ। 

यो साता लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता २२३४ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन प्रतिकित्ता २२७३ रुपैयाँ कायम भयो। यसरी यो एक साताको अवधिमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३९ रुपैयाँले बढेको छ। 

यसैगरी नेपाल लाइफको सेयरमूल्यमा पनि प्रतिकित्ता २७ रुपैयाँले बढेको छ। गत साता प्रतिकित्ता २००१ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य यो साता २०२८ रुपैयाँ पुगेको छ। 

गुराँस लाइफको सेयरमूल्य प्रतिकित्ता २१ रुपैयाँले बढ्दा प्राइम लाइफ र प्रभु लाइफको सेयरमूल्य समान १८ रुपैयाँ, नेसनल लाइफ १५ रुपैयाँ, एसियन लाइफ ६ रुपैयाँ र सूूर्या लाइफको सेयरमूल्य प्रतिकित्ता १ रुपैयाँले बढेको छ। 

यो साता ज्योति लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३० रुपैयाँका दरले घटेको छ। रिलायन्स लाइफको सेयरभाउ पनि प्रतिकित्ता २ रुपैयाँले ओरालो लागेको छ। 

निर्जीवन बीमा समूहतर्फ भने १८ वटा कम्पनीमध्ये १३ वटा सेयरमूल्य उकालो लागेको छ भने ५ वटाको ओरालो लाग्यो। यो साता नेको इन्सुरेन्सको सेयरमूल्यमा सर्वाधिक वृद्धि भएको छ। यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ७९ रुपैयाँले उकालो लागेको छ। गत साताको अन्तिम कारोबार दिन यो कम्पनीको सेयरभाउ प्रतिकित्ता १ हजार ५७७ रुपैयाँ रहेकोमा यो साताको अन्तिम कारोबार दिनसम्म बढेर १ हजार ६५६ रुपैयाँ कायम भएको छ। 

यस्तै सगरमाथा इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको सेयरमूल्यमा प्रतिकित्ता ५८ रुपैयाँले बढेको छ। 

गत साता प्रतिकित्ता ७४७ रुपैयाँ रहेको सानिमा जनरलको सेयरमूल्य यो साताको अन्तिम कारोबार दिन ७८६ रुपैयाँका साथ बन्द भएको छ। यो कम्पनीको सेयरभाउ पनि प्रतिकित्ता ३९ रुपैयाँले उकालो लागेको छ। 

यो अवधिमा एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता ३८ रुपैयाँका दरले वृद्धि भएको छ भने प्रिमियर इन्स्योरेन्सको ३३ रुपैयाँ, प्रभु इन्स्योरेन्सको २७ रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १६ रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको १० रुपैयाँ, अजोड इन्स्योरेन्सको ९ रुपैयाँ, जनरल इन्स्योरेन्सको ६ रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको सेयरभाउ प्रतिकित्ता २ रुपैयाँले बढेको छ। 

निर्जीवन बीमा कम्पनीमध्ये प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आउको छ। यस साता यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ८३३ रुपैयाँबाट ७७२ रुपैयाँमा झरेको छ। 

त्यस्तै आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता २७ रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ६ रुपैयाँ र नेपाल इन्स्योरेन्स र हिमालयन जनरलको सेयरमूल्य समान ४/४ रुपैयाँले घटेको छ।