– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कोरोनाको दोस्रो लहर यतिबेला देशमा भुसमा आगोझैँ फैलिइरहेको छ।

बढ्दो कोरोनाको कहर नियन्त्रण तथा रोकथामका लागि सरकारले अधिकांश उपत्यकालगायत अधिकांश स्थानमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञाका अत्यावश्यकबाहेक सम्पूर्ण सेवा ठप्प छन्। कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहर निकै घातक सावित हुन थालेपछि मानिसहरुले घरभित्रै सुरक्षित भएर बस्न थालेका छन्। 

अहिले देशमा अस्पतालहरु निकै चाप बढेको छ। बैंक तथा वित्तीय संस्थाहरु पनि न्यून संख्यामा खुल्न दिइएका छन्। 

अनलाइन प्रणालीको विकास भएसँगै सेयर बजार निर्वाध रुपमा सञ्चालनमा छन्। तर बजारमा प्रत्यक्ष संलग्नता हुने ब्रोकर हाउसहरु सीमित कर्मचारीका भरमा खुलाइएका छन्। लगानीकर्ताहरुलाई प्रवेश गर्न दिइएको छैन। 

अनलाइनबाटै भए पनि लगानीकर्ताहरु अहिले सेयर बजारमा सक्रिय रुपमा कारोबार गरिरहेका छन्। अन्य क्षेत्रमा लगानी गर्ने वातावरण नभएका कारण सेयर बजारमै लगानी भित्रिरहेको छ। बजारको ट्रेन्ड बुलिस छ। यही सिलसिलामा हामीले लगानीकर्ताका नेता तथा बजार जानकारसँग उनीहरुको दिनचर्या र यो प्रतिकूल परिस्थितिमा आमलगानीकर्तालाई उनीहरुको सल्लाहसुझावलाई समेट्ने कोसिस गरेका छौँ। 

छोटेलाल रौनियार–  अध्यक्ष, नेपाल इन्भेस्टर फोरम 

म बिहान सबेरै उठ्छु । नियमित नित्यकर्मपछि केही समय पत्रपत्रिका तथा समाचार अध्ययन गर्छु। त्यसपछि २–३ घन्टा गार्डेनमा काम गर्छु। यसो गर्दा शारीरिक र मानसिक स्वास्थ्य हुन्छ। यसरी नै बिहानीको समय बित्छ। बिहान १०ः३० बजेपछि सेयर कारोबारका लागि तयार हुन्छ । मैले सेयर किनबेच पनि गर्छु । नाफा भए बेच्नु पनि पर्छ। यो आर्थिक वर्षको ९ महिना बितिसक्यो। अब ३ महिनामा त प्रतिफल नै खान पाइन्छ । वैशाख २७ गते संसद बैठकको आह्वानले लगानीकर्ता केही सजगमात्रै भएका हुन् । तर बजार समग्रमा सकारात्मक छ । यो बेला म आमलगानीकर्तालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सल्लाह दिन चाहन्छु। अहिले प्राविधिक हिसाबले हामी सबल भइसकेका छौँ। घरबाटै अनलाइन प्रणालीबाट कारोबार गर्न सक्छौँ । त्यसैले घरभित्रै बसौँ । कारोबार पनि गरौँ अनि स्वस्थ पनि रहौँ।

राधा पोखरेल– अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ 

म बिहान अलि ढिलो उठ्छु। किनकि बेलुका ढिलो सुत्ने गरेकी छु । अहिले आफन्त बिरामी भएकोले केही समय अस्पतालमा दिनुपरेको छ। फुर्सदमा जुम मिटिङबाट नयाँ तथा साना लगानीकर्तालाई सेयर कारोबारका लागि सहयोग गर्दै आएकी छ्ु। अहिले निषेधाज्ञा भएको अत्यावश्यक कामबाहेक घरबाहिर निस्किने गरेकी छैन। त्यसैले घरमै बस्दा पुस्तकहरु पढ्ने गरेकी छु। यो निषेधाज्ञाका बेला हाम्रो संघबाट केही आर्थिक सहयोग जुटाउँदैछौँ । मैले आफूले पनि निषेधाज्ञाका कारण समस्यामा परेकालाई सहयोग गरिरहेकी छु। अहिले पनि दैनिक १५–२० जना समस्यामा परेकालाई खाना खुवाउने व्यवस्था गरेकी छु। अहिले बजेटको बिषयमा मन्त्रालयमा कुरा भएको छ । सेयर धितो मार्जिन बढाउनुपर्ने तथा अल्पकालीन र दीर्घकालीन लगानीकर्ता छुट्टाएर करको व्यवस्था गर्न हाम्रो माग छ । म सबै लगानीकर्ता दाजुभाइ तथा दिदीबहिनीलाई यो प्रतिकूल परिस्थितिमा सकभर घरबाहिर ननिस्किन सल्लाह दिन चाहन्छु । हामीले पहिले आफ्नो स्वास्थ्यलाई ध्यान दिनुपर्छ। यसलाई मनन गरी घरभित्रै सुरक्षित बसिदिन आग्रह गर्छु।

केशव कोइराला – बजार जानकार

म अत्यावश्यक सेवा प्रदान गर्ने संस्थामा काम गर्छु। त्यसैले निषेधाज्ञामा नियमित कार्यालय गइरहेको छु। तर सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेको छु। सेयर बजार अनलाइन प्रणालीबाटै कारोबार गर्न सकिने भएकोले खासै समस्या छैन। कहिलेकाहीँ पशुपतिनाथतिर पनि साथीभाइ भेला भएर सेयरसम्बन्धी गफगाफ हुन्थ्यो। निषेधाज्ञाले अहिले बन्द भएको छ। तर यतिबेला अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन म पनि अरुलाई सल्लाह दिन चाहन्छु। अवस्था निकै प्रतिकूल छ। सेयर बजार सकारात्मक नै रहेको छ। घरमै बसेर राम्रा प्रतिफल दिने कम्पनीका सेयरमा लगानी गर्न सुझाव दिन्छु। अहिले बजारमा कमाउने अवसर पनि छ। म सबै लगानीकर्ताहरुलाई घरभित्रै बसिदिन आग्रह गर्छु। परिवारसँग समय बिताउनुहोस् । सकारात्मक कुरा सोच्नुहोस्।

प्रेम ओली– बजार जानकार 

म वर्षौंदेखि सेयर बजारमा लागेको छ। त्यतिबेलाको परिस्थिति र अहिले परिस्थिति निकै फरक छ। अहिले विश्वभर नै स्वास्थ्य संकट छ। नेपाल पनि त्यसबाट अछुतो छैन। तर अहिले नेपालको सेयर बजारमा अनलाइनबाटै कारोबार गर्न सकिने भएकोले सहज भएको छ। म अहिले बिहानै उठेपछि आर्थिक समाचारहरु पढ्छु । त्यसपछि सामान्य योगा र शारीरिक अभ्यास गर्छु। अहिलेको प्रतिकूल अवस्थामा यस्ता गतिविधिले सकारात्मक प्रभाव पार्छ भन्ने मलाई लाग्छ। घरभित्रै सुरक्षित बस्नुपर्ने भएकोले म विशेषगरी फुर्सदको समयमा साहित्य तथा हास्यव्यंग्यमा बढी रुचि भएकोले त्यता ध्यान दिन्छु । दिन सजिलै बित्छ। म शिक्षा क्षेत्रमा लागेकोले शैक्षिक भेटघाट पनि हुन्छन् । कारोबार खुल्दा नियमित बसेर सेयर कारोबार गर्ने गर्छु । निषेधाज्ञाले फुर्सद भएकोले परिवारसँगै दिन बितिरहेको छ। साथीभाइसँग फोनमै कुराकानी हुन्छ। घरभित्रै बसेर सुरक्षित कारोबार गर्न म सबैलाई आग्रह गर्छु।