– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कोरोनाभाइरसको दोस्रो लहर तीव्रगतिमा फैलिन थालेपछि देशका अधिकांश भूभागमा निषेधाज्ञा लागू गरिएको छ। निषेधाज्ञाका बेला अत्यावश्यक सेवा अस्पताल र औषधि पसलमात्रै पूर्ण रुपमा खुलेका छन्। 

दैनिक उपभोग्य वस्तु खरिदका लागि बिहान २ घन्टाको समय दिइएको छ। निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका सीमित शाखाहरुमा खुलेका छन्। 

सेयर बजार भने अनलाइन प्रणालीबाट निर्वाध रुपमा सञ्चालनमा छ। अहिले कोरोनाका कारण सेयर बजारमा भुक्तानी तथा लिनदेन सबै डिजिटल माध्यमबाट भइरहेको छ।

हामीले निषेधाज्ञाका बेला लगानीकर्ता र ब्रोकर हाउसबीच सेयर किनबेचको राफसाफ कसरी भइरहेको छ भन्ने विषयमा बुझेका छौँ। 
काठमाण्डौस्थित कोहिनुर सेक्युरिटिजका सञ्चालक भरत रानाभाट निषेधाज्ञाका बेला पनि सेयर कारोबारमा खासै समस्या नभएको बताउँछन्। ‘चेक आउने फाटफुटमात्रै हो’, उनले भने, ‘अघिल्लो लकडाउनले गर्दा धेरै ग्राहक डिजिटल माध्यममा बानी परिसकेका छन्।’

केहीको बैंक अकाउन्ट खाता नम्बर नमिलेर तथा नामथर नमिलेमा भुक्तानीमा केही ढिलो हुने गरेको रानाभाटले बताए। ‘नत्र हामीले समयमै भुक्तानी गरेका छौँ’, उनले भने, ‘अझ हामीले त ग्राहकलाई औषधोपचारमा अत्यावश्यक परेको खण्डमा सेयर बेचेकै दिन २ लाख रुपैयाँसम्म भुक्तानी दिने व्यवस्था गरेका छौँ। एकैदिन हामीले त्यस्ता ५ ग्राहकलाई भुक्तानी गरेका छौँ।’

काठमाण्डौस्थित क्रिस्ट कञ्चनजंघा सेक्युरिटिजका सञ्चालक प्रियराज रेग्मी निषेधाज्ञाका बेला सबै कारोबार डिजिटल माध्यमबाट गर्नुपर्ने भएकोले भुक्तानीमा केही समस्या भइरहेको बताउँछन्। ‘ग्राहकलाई अनलाइन माध्यम कनेक्ट आईपीएस तथा मोबाइल बैंकिङको व्यवस्था गरेर भुक्तानीको सुनिश्चतता भएपछि सेयर खरिद गर्न अनुरोध गरेका छौँ’, उनले भने।

सीमित कर्मचारीका भरमा ब्रोकर हाउस चलाउनुपर्दा केही कठिनाइ भइरहेको रेग्मी बताउँछन्। ‘सीमित कर्मचारीका भरमा पहिलेजस्तै सबै कामकाज चलाउनुपरेको छ’, उनले भने, ‘यद्यपि ग्राहकले बेचेका सेयरको भुक्तानी तोकिएकै समयमा गर्ने काम गरिरहेका छौँ। ‘कहिलेकाहीँ ग्राहकको नाम वा बैंक अकाउन्ट सिस्टममा म्याच नगर्दा भुक्तानीमा समस्या हुने गरेको छ’, उनले भने, ‘त्यसमा हामीले ग्राहकलाई फोन गरी समस्या समाधानको प्रयास गरिरहेका छौँ।’

रेग्मीले सकभर सबै ग्राहकलाई डिजिटल माध्यममा कारोबार गर्न अनुरोध गरिएको बताए। 

एसियन सेक्युरिटिज बुटवल शाखाका सञ्चालक दीननाथ शर्मा अहिले ब्रोकर हाउसमा लगानीकर्ताको शून्य उपस्थिति रहेको बताउँछन्। ‘अनलाइन प्रणाली नलिएकाले फोनबाट पनि कारोबार गरिरहेका छन्’, उनले भने, ‘सेयर किनबेचमा समस्या छैन तर भुक्तानीका लागि भने निकै समस्या भइरहेको छ।’

बुटवलमा धेरैजसो बैंक बन्द रहेकोले सेयर कारोबार प्रभावित भएको शर्मा गुनासो गर्छन्। ‘ग्राहकले दिएको चेक साट्न नसकेर फिर्ता भइरहेका छन्’, उनी भन्छन्, ‘अनलाइन प्रणालीबाट कारोबार गर्नेहरुले कनेक्ट आईपीएस तथा मोबाइन बैंकबाट कारोबार गरिरहेकाले भुक्तानीमा समस्या छैन।’

सीमित कर्मचारीका भरमा ब्रोकर हाउस खोल्नुपरेकोले कामको प्राथमिकता हेरेर गरिरहेको शर्माले सुनाए। ‘सबैले अनलाइन प्रणाली लिएका छैनन तर अहिले गर्न सक्ने अवस्था पनि छैन’, उनले भने, ‘त्यसैले अहिले मुख्य समस्या भनेको भुक्तानीकै देखिएको छ।’ 

त्रिशक्ति सेक्युरिटिज पब्लिक पोखराका व्यवस्थापक कविराज शर्मा पनि सबै सेयर ग्राहकले अनलाइन प्रणालीका साथै कनेक्ट आईपीएस र मोबाइल बैंकिङ नलिएका कारण भुक्तानीमै समस्या रहेको बताउँछन्। ‘अझै पनि धेरै ग्राहकले चेक दिन्छन्’, उनले भने, ‘हामीले उहाँहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न भनेका छौँ। चेक क्लियरिङको समस्या छ।’

पोखरामा पूर्ण निषेधाज्ञा रहेकाले तत्काल ग्राहकले पनि बैंकबाट मोबाइल बैंकिङ र कनेक्ट आईपीसी लिन समस्या भइरहेको शर्माले बताए। ‘हामी ग्राहकलाई डिजिटल भुक्तानीमा अभ्यस्त हुन आग्रह गरिरहेका छौँ, यसो भएमा ग्राहक तथा ब्रोकर दुवैलाई सहज हुने थियो।’ 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली निषेधाज्ञाका बेला काठामाण्डौस्थित ब्रोकर हाउसहरुमा सेयर कारोबारमा खासै समस्या नदेखिएको बताउँछन्। ‘मोफसलमा भुक्तानीका लागि केही समस्या देखिएको छ’, उनले भने, ‘मेरै बिर्तामोडस्थित शाखामा पनि लगानीकर्ताहरु अझै डिजिटल माध्यममा अभ्यस्त भएका छैनन्। यसले गर्दा ब्रोकरहरुको वर्किङ क्यापिटल बढेको छ। किनकि ब्रोकरहरुले जसरी पनि भुक्ताानी गर्नुपर्ने हुन्छ।’

मैनाली लगानीकर्ताहरु अब डिजिटल माध्यममा अभ्यस्त हुनुपर्ने बताउँछन्। ‘पहिले लकडाउनमा पनि चेकबाट कारोबार भयो, अहिले अवस्था फेरिएको छ’, उनले भने, ‘त्यसैले अब लगानीकर्ताहरु डिजिटल माध्यममा जानुको विकल्प छैन। 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सेयर कारोबार अहिले अनलाइन प्रणालीबाट भइरहेकोले तत्काल नियम परिर्वतन गर्न सम्भवना नरहेको बताउँछन्। ‘अहिलेको अवस्थामा अनलाइन प्रणालीबाट सेयर किनबेच गर्नुको विकल्प छैन’, उनले भने, ‘२–३ जनाका लागि नियम कानुन परिवर्तन हुन्न।’

ब्रोकरहरुले जसरी पनि डिजिटल माध्यमबाट तोकिएकै दिन सेयर कारोबार राफसाफ गर्नुपर्ने ढुंगाना बताउँछन्। ‘ब्रोकरले सधैँ समस्या देखाउँछन् तर अहिले बिनाचेक पनि कारोबार सम्भव छ’, उनले भने।