काठमाण्डौ । बहुप्रतिक्षित र बहुचर्चित नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरसम्बन्धी सम्झौता अझै लम्बिने देखिएको छ। 

दुवै बैंकबीच लगभग बराबरी सेयर स्वाप अनुपातमा मर्जरमा जाने सहमति भइसक्दा पनि मर्जरसम्बन्धी सम्झौतापत्र हस्ताक्षर (एमओयू) को समय भने लम्बिँदै गएको हो। पाकिस्तानको हबिब बैंकको हिमालयन बैंकमा रहेको सेयरका विषयमा टुंगो नलाग्दा यी दुई बैंकबीच एमओयूको मिति टुंगो नलागेको बैंक स्रोत बताउँछ। 

दुवै बैंकबीच मर्जका लागि दुवैतर्फको बोर्ड बैठकले मर्जर कमिटीको निर्णय स्वीकार गरिसकेको छ। दुवै बैंकबीच मर्जरका लागि कुनै विवाद छैन। तर हिमालयन बैंकमा रहेको हबिब बैंकको संस्थापक सेयरका विषय टुंगो नलाग्दा ढिलाइ भएको स्रोत बताउँछ। ‘यस विषयमा छलफल भइरहेको छ, सम्भवतः यही साताभित्र हबिब बैंकको सेयरका विषयमा टुंगो लाग्नेछ’, हिमालयन बैंक स्रोत भन्छन्, ‘त्यसैले आगामी सातामात्रै दुवै बैंकबीच एमओयू हुने सम्भावना छ।’ 

हिमालयन बैंकमा हबिब बैंकको २० प्रतिशत संस्थापक सेयर छ। स्रोतका अनुसार हबिब बैंकले मर्जरमा जानुअघि उक्त सेयर बिक्री भएको सुनिश्चितता चाहन्छ।  

उक्त संस्थापक सेयर खरिदका लागि हालका हिमालयन बैंकका संस्थापक सेयरधनीलाई नै पहिलो अधिकार हुन्छ। तर संस्थापकहरु कसले कति सेयर लिने भन्ने टुंगो नलागेको स्रोत बताउँछ। 

हबिब बैंकले प्रतिकित्ता २८२ रुपैयाँ ५० पैसाका दरले ६ अर्ब ४ करोड रुपैयाँ बढीको आफ्नो संस्थापक सेयर बिक्री गरेर लैजान खोजेको छ। ‘तर हबिब बैंकको सबै सेयर हिमालयन बैंकका हालका संस्थापकहरुले मात्रै सकार्ने अवस्था देखिँदैन’, बैंक स्रोत भन्छन्, ‘जसले गर्दा इन्भेष्टमेन्ट बैंकसँगको एमओयूमा ढिलाइ भइरहेको हो।’ 

एमओयू गर्नुअघि कर्मचारी व्यवस्थापन, स्वाप रेसियो, सञ्चालक समिति, माथिल्लो व्यवस्थापन टिमलगायतका विषय मिलिसकेको छ। मर्जपछि बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ टुंगो लागेको छ। 

मर्जरपछि बैंकको अध्यक्षमा हालका इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका हालका अशोकशमशेर राणा नै रहनेछन्। उनीपछिको कार्यकाल इन्भेष्टमेन्टका हालका ज्योति पाण्डेले सम्हाल्ने सहमति भएको स्रोत बताउँछ।