काठमाण्डौ । बैंकिङ उद्योगको बहुचर्चित र बहुप्रतिक्षित नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरका लागि आज बिहीबार प्रारम्भिक सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ। 

नेपालको वित्तीय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर/एक्विजिसन नीतिको अनुशरण गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच आपसमा मर्जरमा प्रारम्भिक समझदारी भएको हो। समझदारीपत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकका तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेका छन्। 

यी दुवै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुका रुपमा सबल एवं सक्षम संस्थाका रुपमा परिचित छन्। यी दुवै बैंक आपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरका लागि प्रेरित गर्ने देखिन्छ।

यी दुई बैंकबीच एक बराबर एकको सेयर स्वाप अनुपातमा मर्जर सम्झौता भएको भएको छ। मर्जरपछि बैंकको नाम ‘हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड हुने र सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतमा अशोकशमशेर राणा रहने सहमति भएको छ। त्यसैगरी मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुवै बैंकका तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने र नयॉ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ।

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी रु.१६.२६ अर्ब तथा हिमालयन बैंकको चुक्ता पुँजी रु. १०.६८ अर्ब रहेको छ। दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु. २६.९४ अर्ब भई सबैभन्दा बढी चुक्तापुँजी भएको बैंक बन्नेछ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेन्ट बैंकको जगेडा तथा कोष रु. १४.१० अर्ब र हिमालयन बैंकको रु. ७.६७ अर्ब, कर्जा लगानीतर्फ हाल नेपाल इन्भेष्टमेन्ट बैंकको रु. १६०.९८ अर्ब र हिमालयन बैंकको रु. १२७.१४ अर्ब र निक्षेपतर्फ नेपाल इन्भेष्टमेन्ट बैंकको रु. १६८.२९ अर्ब र हिमालयन बैंकको रु. १४३.७० अर्ब रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ।

दुवै बैंक आपसमा गाभिएपश्चात संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवं सक्षम बैंकका रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिबद्धताका साथ यो मर्जर कार्यमा लागेको दुवै बैंकका अध्यक्षहरुले जानकारी गराए। उनीहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।