काठमाण्डौ। इन्डोनेसियाका दुुई ठूला स्टार्टअप कम्पनी गोजेक र टोकोपेडिया मर्ज हुने भएका छन्।

मर्जपश्चात कायम हुने गोटु गुप्र कम्पनी इन्डोनेसियाको सबैभन्दा ठूलो टेक गुप्र कम्पनी तथा दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो ई–कमर्स कम्पनी बन्नेछ। मर्जरपछि गोटु गुप्र १८ बिलियन डलरबराबरको कम्पनी बन्नेछ र यो अलिबाबा फेसबुक, टेनसेन्ट, गुुगल र सफ्ट बैंकबाट समर्थित हुनेछ। 

जाकर्तामा आधारित गोजेक कम्पनीले एउटा एपका रुपमा आफ्नो सुरुआत गरेको थियो। जहाँबाट मानिसहरुले मोटरसाइकल राइड अडर गर्न सक्दथे। यसपश्चात कम्पनीले फुड डेलिभरी, अन डिमान्ड ग्रोसरी तथा सेवाहरुमा आफ्नो सेवा विस्तार गरेको थियो।  

यस्तै ई–कमर्स प्लेटफर्म टोकोपेडिया सन् २००९ मा लन्च भएको थियो। जसबाट जोकसैले अनलाइन स्टोरको सुरुआत गर्न सक्छन्। इन्डोनेसियाको भाषामा टोकोको अर्थ पसल भन्ने हुन्छ। 

मर्जरपश्चात कायम हुने गोटु गुप्रको सीईओ गोजेकका अहिलेका सीईओ आन्द्रे सोइललिस्ट्यो हुनेछन् भने टोकोपेडियाका  अहिलेका अध्यक्ष प्याट्रिक काओ गोटुुको अध्यक्ष बन्नेछन्। ‘गोटु गुप्रले इन्डोनेशियाको जीडीपीको २ प्रतिशत हिस्सा ओगट्नेछ र कम्पनी तथा अर्थतन्त्रको विस्तारसँगै हामी रोजगारका विभिन्न अवसरहरु सिर्जना गर्नेछौँ’, काओले भने। 

मर्जरपश्चात कायम हुने कम्पनी विश्वको चौथो धेरै जनसंख्या भएको इन्डोनेसियामा मात्रै केन्द्रित नभई दक्षिणपूर्वी एसियाका अन्य उदयीमान बजारहरुमा समेत सञ्चालनमा आउनेछ। – एजेन्सी