काठमाण्डौ । कोरोना महामारी नियन्त्रण तथा रोकथाम नियन्त्रणका जारी गरिएको निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको कर्जा परिचालन प्रभावित भएको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वैशाख अन्तिम साता (२५–३१ गतेसम्म) वाणिज्य बैंकहरुबाट २ अर्ब रुपैयाँमात्रै कर्जा लगानी गरेका छन्। अघिल्लो साता भने बैंकले १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। 

गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञाका कारण उद्योगधन्दालगायत सम्पूर्ण व्यवसाय प्रभावित हुँदा वाणिज्य बैंकहरुको कर्जा परिचालन प्रभावित भएको हो। 

बैंकहरुले वैशाख महिनाभरि भने ३८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। योसँगै हालसम्म बैंकहरुले कुल ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। 

यसैगरी वैशाखको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप संकलन भने २२ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो साता भने बैंकहरुले १० अर्ब रुपैयाँमात्रै निक्षेप संकलन गरेका थिए। 

वैशाख पहिलो र दोस्रो साता भने वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको थियो। जसका कारण वाणिज्य बैंकहरुले वैशाख महिनाभरि भने ११ अर्ब रुपैयाँमात्रै निक्षेप संकलन गरेका छन्। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ३९ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ।