काठमाण्डौ । कोभिड १९ को दोश्रो लहर तीव्र बनेपछि देशका ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कडा निषेधाज्ञाका कारण अधिकांश आर्थिक गतिविधि निलम्बनमा परेका छन् । 

संचालनमा रहेका उद्योग कलकारखानाले समेत आधा क्षमतामा आफ्ना प्लान्टहरु संचालन गरिरहेका छन् । अन्य क्षेत्र समेत सुनसानप्राय छ । यो अवस्था लामो समय रहे अर्थतन्त्रमै समस्या आउनसक्ने आँकलन भइरहेको बेला सरकारको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा रहने राष्ट्रबैंकले पनि आफ्नो विश्लेषण सार्वजनिक गरेको छ । 

राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै अर्थतन्त्र समस्यामा पर्नसक्ने संकेत गरेको हो । 

केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख दिशामा अघि बढेको भएतापनि कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा अवलम्बन गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न समेत चुनौतीपूर्ण हुने देखिन्छ । 

चालु आर्थिक वर्षको चैतसम्म विप्रेषण आप्रवाह सन्तोषजनक रहेता पनि विश्वव्यापी रुपमा कोभिड–१९ को नयाँ स्वरुपमा दोस्रो लहर फैलिएको र विगत एक वर्षभन्दा बढी समयसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेकोले विप्रेषण आप्रवाहको वृद्धि कायम रहनु चुनौतिपूर्ण हुने केन्द्रीय बैंकको विश्लेषण छ । 

'पछिल्ला महिनाहरुमा आयातको विस्तार हुन थालेकोले शोधनान्तर बचतको मात्रा घट्दै गएको छ । तर, पुनः बन्दाबन्दीको स्थिति सिर्जना भएकोले स्वास्थ्यजन्य वस्तु बाहेकको आयात प्रभावित हुने देखिन्छ ।' समीक्षामा भनिएको छ-'फलस्वरुप, शोधनान्तर बचत केही कमी हुँदै जान सक्ने सम्भावना रहे पनि चालु आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान रहेको छ ।'

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मुद्रास्फीति दर नियन्त्रित अवस्थामा रहेतापनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुन थालेको, भारतको मूल्य वृद्धि नेपालको भन्दा केही उच्च रहेको र नेपाली रुपँैया अवमूल्यन हुँदै गएको कारण आगामी दिनमा मुद्रास्फीतिमा केही चाप पर्ने स्थिति समेत रहेको केन्द्रीय बैंकको विश्लेषण छ । 'तापनि, आन्तरिक माग शिथिल रहेको र आपूर्ति व्यवस्थापन सहज नै रहेकोले चालु आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमाभित्र रहने देखिन्छ ।'-उसले अझ प्रष्ट्याउँदै भनेको छ । 

राष्ट्रबैंकले कोभिड १९ को दोश्रो लहरका कारण अबलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुनः प्रभावित भई बैंकिंग क्षेत्र पनि प्रभावित हुने संभावना औंल्याएको छ । कोभिड–१९ को पहिलो लहरको प्रभावलाई नियमनकारी नीतिगत सहजताले गर्दा बैकिङ्ग क्षेत्रले व्यवस्थापन गर्न सकेको थियो । 'तर, कोभिड–१९ को दोस्रो लहरको कारण अवलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुनः प्रभावित भई बैकिङ्ग क्षेत्रपनि प्रभावित हुने सम्भावना रहेको छ ।' समीक्षामा अगाडि भनिएको छ-'पछिल्ला महिनाहरुमा बैकिङ्ग क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढंगले बढेकोमा पुनः शिथिलतातर्फ जाने देखिन्छ । तापनि, चालु आर्थिक वर्षको बाँकी अवधिमा मौद्रिक नीतिको शुरुको लक्ष्यभन्दा बढी नै कर्जा विस्तार हुने देखिन्छ ।'

राष्ट्रबैंकले ब्याजदरको संभावित उतारचढावको विषयमा समेत आफ्नो प्रक्षेपण सार्वजनिक गरेको छ । उसका अनुसार आगामी दिनमा कर्जा तथा निक्षेपको ब्याजदरहरु सामान्य अवस्थामा रहनेछन् । 

कोभिड–१९ को पहिलो लहर शुरु भएदेखि कर्जाको माग घटेको तर लचिलो मौद्रिक नीतिका कारण तरलता प्रवाह बढेको हुनाले निक्षेप तथा कर्जाको व्याजदरहरु घट्दै गएका छन् । 'कर्जाको व्याजदरमा आएको कमीले गर्दा पछिल्ला महिनाहरुमा कर्जाकोमाग बढाउन सहयोग पुगेको छ । कर्जा माग उल्लेख्य ढंगले बढ्दा २०७७ चैत महिनापछि बैकिङ्ग क्षेत्रको तरलतामा कमी आइ अल्पकालीन व्याजदरहरु केही बढ्न गएका छन्।'  समीक्षामा भनिएको छ-'यसले गर्दा आगामी दिनमा कर्जा तथा निक्षेपको व्याजदर बढ्ने संकेत देखिएतापनि हालै गरिएको बन्दाबन्दीले नयाँ कर्जाको मागमा कमी आइ बैकिङ्ग क्षेत्रको तरलता र व्याजदरहरु सामान्य रहने देखिन्छ ।'