काठमाण्डौ । छिमेकी मुलुक भारतको कर्नाटकमा तेस्रो लहर आउनुुअघि नै बालबालिकामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

महाराष्ट्रपश्चात कर्नाटक त्यो राज्य हो, जहाँ कोरोना संक्रमणको मामिलाहरुमा सबैभन्दा धेरै तीव्रता आइरहेको छ। दोस्रो लहरको दौरान नै अहिले कर्नाटकमा बालबालिकामा कोरोना संक्रमण अधिक देखिएको छ। जब कि विशेषज्ञका अनुसार तेस्रो लहर बालबालिकाका लागि झनै खतरनाक हुन सक्छ। 

कोरोनाको पहिलो लहरको बेला अर्थात ९ मार्चदेखि २५ सेप्टेम्बर २०२० सम्म भारतमा १० वर्षमुनिका १९ हजार ३७८ जना र ११ देखि २० वर्षसम्म ४१ हजार ९८५ बालबालिकामा कोरोना संक्रमण देखिएको थियो। अहिले कारोनाको दोस्रो लहरमा सुरु भएको मात्र १५ दिनमा अर्थात १ देखि १६ मे २०२१ सम्ममा १९ हजार बालबालिका संक्रमित भइसकेका छन्। 

चिकित्सकहरुका अनुसार बालबालिकामा कोरोनाको अचम्मको लक्षण देखिएको छ। जसमध्ये लगभग १० वर्षका बालिबालिकामा ग्यास्ट्रोएन्टेराइटिस पनि समावेश छ। कर्नाटकमा बालबालिकामा देखिएको संक्रमणका कारण भारत सरकार सतर्क देखिएको छ। 

यसअघि कारोना संक्रमणका कारण दिल्लीमा दुईजना बालबालिकाको मृत्यु भइसकेको छ। कांग्रेस नेता राहुल गान्धी र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले बालबालिकामा देखिएको संक्रमणलाई न्यूनीकरण गर्न केन्द्र सरकारसँग अपिल गरेका छन्। 

स्वास्थ्य विज्ञहरुका अनुसार कोरोना संक्रमण भएका बालबालिकामा सामान्य रुघाखोकी, ज्वरो, सास फेर्न कठिनाइ, थकान, घाँटीमा खसखस, स्वाद थाहा नपाउनु, सुघ्ने क्षमतामा कमी, मांशपेसीमा दुःखाइ र निरन्तर नाकबाट सिँगान बग्नुजस्ता लक्षणहरु देखिन्छन्। 

अनुसन्धानका अनुसार बालबालिकामा मल्टी सिस्टक इन्फेलेमेटरी सिन्ड्रोम पनि देखिएको छ। बालबालिकामा देखिने मल्टी सिस्टक इन्फेलेमेटरी सिन्ड्रोममा सामान्य लक्षणहरु जस्तै– ज्वरो आउनु, उल्ठी आउनु, पेट दुख्नु, थकान, मुटुको चालमा तीव्रता आउनु, आँखा रातो हुनु, ओठ सुन्निनु, खुट्टा सुन्निनु, टाउको दुख्नु र शरीरको कुनै भागमा गाठो बस्नुजस्ता लक्षणहरु समावेश छन्।– एजेन्सी