काठमाण्डौ । विश्वको सबैभन्दा धेरै मूल्य भएको क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा बुधबार ३० प्रतिशतको गिरावट आएको छ। 

मूल्यमा आएको यो गिरावटका कारण क्रिप्टोकरेन्सीको कारोबार गर्ने विश्वभरका माझ भय तथा चिन्ता फैलिएको छ। विज्ञहरुका अनुसार टेस्लाका सीईओ एलन मस्कको ट्विट र चीनद्वारा क्रिप्टोकरेन्सीमाथि गरिएको कारबाहीका कारण यसको मूल्यमा भारी गिरावट आएको हो। 

बिटक्वाइनमात्रै नभई अन्य क्रिप्टोकरेन्सी जस्तै डजक्वाइन र इथेरियमको मूल्य पनि क्रमशः ४५ र ४० प्रतिशतले घट्यो। 

अप्रिलदेखि अहिलेसम्म करिब डेढ महिनामा बिटक्वाइनको मूल्य आधीले घटिसेकेको छ। बुधबारको गिरावटसँगै बिटक्वाइनको मूल्य ३१ हजार अमेरिकी डलरमा झरेको छ। एक महिना पहिले बिटक्वाइनको मूल्य ५५ हजार अमेरिकी डलरको उचाईमा पुुगेको थियो। यस वर्षको अप्रिलमा यो क्रिप्टोकरेन्सी ६० हजार अमेरिकी डलरको उचाइमा पुुगेको थियो। गत वर्ष बिटक्वाइनको मूल्य केवल ६ हजार अमेरिकी डलरमात्रै थियो। यसरी एक वर्षको अवधिमा बिटक्वाइनको मूल्य १० गुणाले बढ्यो। 

मूल्यमा आएको गिरावटका कारण मानिहसरु बिटक्वाइनबाट आफ्नो लगानी सुरक्षित गरिरहेका छन्। जसका कारण विश्वभरका क्रिप्टोकरेन्सीको कारोबार हुने एक्सेचेन्जहरुमा ट्राफिक उच्च भएका कारण अधिकांश ठप्प भएका छन्। मूल्यमा आएको गिरावटका कारण बिटक्वाइन बिक्री गर्नेमात्रै होइन खरिद गर्नेको चाप पनि उच्च देखिएको विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्। – एजेन्सी