काठमाण्डौ । संविधानविदहरुले केपी शर्मा ओली सरकारको सिफारिस लगत्तै राष्टपतिबाट सरकार गठनको आधार पेश गर्न भन्दै प्रतिनिधिसभाका सदस्यहरुमा भएको आह्वानलाई गैरसंवैधानिक कदम भनेका छन् । 

संविधानविद भिमार्जुन आचार्यले प्रधानमन्त्रीले संसद विघटन गर्ने नियत राखेको आरोप लगाउँदै यस्तो प्रतिक्रिया दिएका हुन् । 

'विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक ब्यवस्था छैन।' उनले एक ट्वीट गर्दै भनेका छन्-'राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन। नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो।'

राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार कुनै पनि संसद सदस्यलाई सरकार गठन गर्नसक्ने आधार पेश गर्न भन्दै भोलि(जेठ ७ गते) साँझ ५ बजेसम्मको समय दिएर आह्वान भएपछि यसले राष्टिय राजनीतिमा तरंग ल्याइदिएको छ । सोही आह्वानप्रति लक्षित गर्दै संविधानविद आचार्यले यस्तो प्रतिक्रिया दिएका हुन् ।