काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाको विषय बुझ पचाएर राष्ट्रपतिको हुर्मत लिने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

राष्ट्रपति गणतन्त्रको प्रतिक हो भन्दै उनले राष्ट्रपतिको विरोध गणतान्त्रिक संस्था, प्रणालीको विरोध रहेको दाबी गरे । 

'गणतन्त्रको प्रतिक हो राष्ट्रपति । आक्रोश किन ? अनावश्यक विरोध किन ?' उनले भने-'मन्त्रीपरिषदले गरेको सिफारिस राष्ट्रपतिले कार्यान्वयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । अनि अनावश्यक रुपमा राष्ट्रपतिको हुर्मत लिने, अपमान गर्ने काम किन भइरहेको छ ? राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम किन ? राष्ट्रपतिको संवैधानिक सीमाका काम कर्तव्य त बुझ्न पर्छ होला नि ?' 

उनले आफूले गरेको सिफारिसप्रति जवाफदेही रहेको उल्लेख गर्दै भने-'हामीले सभ्य समाज निर्माण गर्नुपर्दैन ? म जवाफदेही छु, मैले गरेको सिफारिसप्रति । अहिले पनि मैले राष्ट्रपति समक्ष सिफारिस गरेको हुँ । जवाफदेही छु । यहाँ संविधानको व्याख्या गर्ने स्वतन्त्र न्यायपालिका होला, अहिले पनि गरिरहेकै छ ।'

उनले आफ्नो कदम असंवैधानिक नरहेको जिकिर पनि गरे । 'वैकल्पिक सरकारका लागि मार्गप्रशस्त गर्दा कसरी असंवैधानिक हो ? वैकल्पिक सरकारको बाटो खोलिदिएको छ, एकजुट भएर यो सरकार विस्थापित गर्नुहोस् ।' उनले भने-'कृपया अब आवेश र उत्तेजनाको राजनीति बन्द गर्नुहोस् । भनेजस्तो भएन भने प्रतिगमन देख्नु ठीक होइन ।' 

उनले वैकल्पिक सरकार बनाउन पनि विपक्षीहरुलाई आग्रह गरे । 'वैकल्पिक सरकार बनाउनुस् । मेरो रचनात्मक सहयोग हुनेछ । सधैंको किचपिच होइन, सहयोगका साथ मेरो दल सरकारलाई सहयोगी भावनाका साथ अगाडि बढ्छ ।'-उनले थपे ।