काठमाण्डौ । हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सतप्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले हकप्रद सेयर निष्कासनका लागि आगामी जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २७ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको हकप्रदमा आवेदन दिनका लागि योग्य हुनेछन्। 

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई गत जेठ ९ गते सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको थियो। 

बोर्डको अनुमतिसँगै अब कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ।

कम्पनीले अब ११ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीहरुका लागि जारी गर्नेछ। 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ।