काठमाण्डौ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले विभिन्न देशमा भेटिएका कोरोनाका नयाँ भेरियन्टहरुको नामकरण गरेको छ। 

डब्ल्यूएचओले ग्रिक अल्फाबेटअनुसार कोरोना नयाँ भेरियन्टहरुको नामकरण गरेको हो। जसअनुसार बेलायती भेरियन्टको नाम ‘अल्फा’, दक्षिण अफ्रिकी भेरियन्टको ‘बेटा’, ब्राजिलियन भेरियन्टको ‘गामा’ र भारतीय भेरियन्टको नाम ‘डेल्टा’ राखिएको छ। अब नयाँ भेरियन्ट भेटिए ग्रिक अल्फाबेटको क्रम अनुसार तिनीहरूको नामकरण हुँदै डब्ल्यूएचओले जनाएको छ। 

वैज्ञानिक नाम राख्दा उच्चारणमा कठिनाइ हुने र देशअनुसार राख्दा सम्बन्धित देशको अपमान गरेजस्तो हुने भएकोले ग्रिक अल्फाबेटको क्रमअनुसार नामकरण गरिएको डब्ल्यूएचओले स्पष्ट पारेको छ। 

यसअघि महामारी फैलिँदा जहाँबाट त्यसको उत्पत्ति भएको हो त्यही ठाउँका आधारमा नाम राख्ने चलन थियो। इबोला भाइरस फैलँदा कंगोको नदीको नामबाट यसको नाम राखिएको थियो। – एजेन्सी