काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका छन् । यो क्रममा एमालेका पुराना ४ मन्त्री बाहेक सबैलाई विदा गरिएको छ ।

एमालेबाट एकजना नयाँ मन्त्री बनाइएको छ भने जनता समाजवादी पार्टी(जसपा)बाट राजेन्द्र महतोको नेतृत्वमा १० जनालाई सरकारमा सहभागी गराइएको छ । महतोले उपप्रधनमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने उनीसहित ८ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । 

नयाँ संविधान निर्माण भइसकेपछि पहिलोपटक सरकारमा एकैपटक ३ जनालाई उपप्रधानमन्त्री बनाइएको छ । संसद विघटन भई चुनाव गराउने तयारीमा रहेको सरकारले आफू निकटका दल, नेता, समुदाय वा क्षेत्रलाई चित्त बुझाउनका लागि सरकारमा ३ जनालाई उपप्रधानमन्त्री बनाएको देखिएको छ । 

पुनर्गठित मन्त्रीपरिषदमा अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका विष्णु पौडेलले उपप्रधानमन्त्री बन्ने मौका पाएका छन् । राजेन्द्र महतो र एमालेका रघुवीर महासेठ पनि उपप्रधानमन्त्री बनेका छन् ।

आज बिस्तार भएको मन्त्रीपरिषद १७ सदस्यीय रहेको छ । केही महत्वपूर्ण मन्त्रालय भने ओलीले आफैंसँग राखेका छन् । ती मन्त्रालयको जिम्मेवारी केही दिनपछि तोक्ने उनको तयारी छ । 

ओलीले आफैंसँग राखेकामध्ये गृहमन्त्रालयमा उनी निकटकै नेताहरुको तानातानको अवस्था रहेको छ । हुन त जसपाले पनि गृहमन्त्रालय आफूले पाउनुपर्ने अडान लिएको थियो, तर ओलीले त्यो प्रस्ताव मानेनन् । 

नयाँ गृहमन्त्रीको रुपमा ओलीका दुई विश्वासपात्रहरु महेश बस्नेत र खगराज अधिकारीको नाम चर्चामा छ । दुवै नेता मन्त्री भइसकेका व्यक्ति हुन् । यी दुईमध्ये बस्नेतको गृहमन्त्री बन्ने संभावना प्रवल रहेको स्रोत दाबी गर्छ । 

अहिलेलाई पुनर्गठित मन्त्रीपरिषदमा कुन नेता आए र कस्तो जिम्मेवारी पाए ? हेरौं । 

बिस्तारित मन्त्रीपरिषदको कार्यविभाजन

  1. केपी शर्मा ओली प्रधानमन्त्री
  2. विष्णु पौडेल, उपप्रधान तथा अर्थमन्त्री
  3. राजेन्द्र महतो, उपप्रधान तथा शहरी विकास मन्त्री
  4. रघुवीर महासेठ उपप्रधान तथा परराष्ट्रमन्त्री
  5. कृष्णगोपाल श्रेष्ठ, शिक्षामन्त्री
  6. वसन्त नेम्वाङ, भौतिक पूर्वाधारमन्त्री
  7. शेरबहादुर तामाङ, स्वास्थ्यमन्त्री
  8. लीलानाथ श्रेष्ठ, कानुनमन्त्री
  9. शरतसिंह भण्डारी, ऊर्जा मन्त्री
  10. अनिलकुमार झा, खानेपानी मन्त्री
  11. लक्ष्मणलाल कर्ण, भूमिव्यवस्था मन्त्री
  12. विमल श्रीवास्तव, श्रम मन्त्री
  13. चन्दा चौधरी, महिला, बालबालिका मन्त्री
  14. उमाशंकर अरगरिया, वन मन्त्री
  15. एकवाल मियाँ, युवा तथा खेलकुद मन्त्री
  16. चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री
  17. रेणुका गुरुङ, महिला तथा बालबालिका राज्यमन्त्री