काठमाण्डौ। अल साल्भाडोर बिटक्वाइनलाई मुद्राको रुपमा कानुनी मान्यता प्रदान गर्ने विश्वको पहिलो देश बनेको छ। 

मध्य अमेरिकी राष्ट्र अल साल्भाडोरको संसदले बिटक्वाइनलाई कानुनी मान्यता प्रदान गरेको हो। बिटक्वाइनलाई कानुनी मान्यता प्रदान गर्ने विषयमा भएको मतदानमा यसको पक्षमा ८४ भोट परेको थियो भने विपक्षमा ६२ भोट परेको थियो। 

अल साल्भाडोरले बिटक्वाइनलाई कानुनी मान्यता प्रदान गरेसँगै विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा उछाल आएको छ। आज बिहान यसको मूल्य १३.६० प्रतिशतले बढ्दै ३७१८२.४९ अमेरिकी डलर पुुगेको छ। बिटक्वाइनको मूल्य गत जनवरी ४ मा २७७३४ अमेरिकी डलरसम्म झरेको थियो। 

बिटक्वाइनका साथ–साथै अन्य क्रिप्टोकरेन्सीको मूल्यमा समेत वृद्धि भएको छ। अन्य किप्टोकरेन्सी बिनेन्स, इथर, डजक्वाइन, कारडानो र एक्सआरपीको मूल्यमा समेत बढोत्तरी आएको छ। 

विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरको मूल्य ५.२७ प्रतिशतले बढ्दै २५६६.४० अमेरिकी डलर कायम भएको छ। यस्तै बिनेन्स क्वाइनको मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ। – एजेन्सी